काठमाडौं/ विगत तीन वर्षदेखी निलम्बनमा रहेको नेपाली क्रिकेटको फुकुवाको ढोकाका रुपमा रहेको क्यान निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदै छ। नयाँ नेतृत्व चयनका लागि हुने प्रक्रिया दुई दिनसम्म चल्ने छ। शुक्रबार दुईओटका कार्यतालिका रहेको छ।
साधारण सभाको उद्घाटन हुने छ भने अर्को भने बन्दसत्रको कार्यक्रम रहेको छ। बन्दसत्रले निर्वाचन सम्बन्धि कार्यविधि तय गर्ने छ। जसअन्तगर्त शनिबार बिहान मनोनयल दर्ता हुने कार्यक्रम रहेको छ। स्वतन्त्र कमीटीका कानुनी सल्लाहकार राजेश्वर श्रेष्ठ भन्छन ‘निर्वाचन प्रक्रिया औपचारीक रुपमा शनिबारनै हुने छ, बिहान मनोनयन गरेर दिउँसो चुनाव गराउने कार्यतालीका रहेको छ।’
उद्घाटन शत्रमा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राखेप सदस्य सचिव रमेश सिलवाललाई अतिथीको रुपमा आमन्त्रण गरिएको छ। अन्तराष्ट्रिय क्रिकेट परिषदले क्यान निलम्बन गरेको झण्डै साढे ३ वर्षपछि क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो। सरकारी हस्तक्षप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो। नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहाकार समितिले क्यानको विधान तयार गरेको थियो। सोही विधानमा टेकेर आईसीसीको स्वतन्त्र कमिटिले क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन गराउन लागेको हो।
साधारण सभाबाट नयाँ नेतृत्व चयन भएसगै क्यान निलम्बन फुकुवा हुने छ। आईसीसीको अक्टोबर १३ मा बस्ने बैठकले औपचारिक रुपमा नेपाल माथिको प्रतिबन्ध हटाउने विश्वास लिएको छ। साधारण सभामा क्यानको जिल्ला र प्रदेशबाट ५९ सदस्य प्रतिनिधि काठमाडौं आएका छन्। सदस्य संख्याको बहुमतले क्यानको नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि चतुरबहादुर चन्द र विनयराज पाण्डे प्यानल सहित चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा रहेका छन्। दुबैपक्षले औपचारीक रुपमा प्यान घोषणा भने गरेका छैनन्।



