काठमाडौं, १२ असोज । सरकारले राष्ट्रिय परिचयपत्र निःशुल्क उपलब्ध गराउने भएको छ । तीन पुस्ते विवरणसहित आगामी आर्थिक वर्षदेखि राष्ट्रिय परिचयपत्रका रुपमा नेपालीले ‘स्मार्ट कार्ड’ निःशुल्क पाउने भएका हुन् ।
आजको कारोबार दैनिकमा खबर छ– परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक दिनेश भट्टराईले स्मार्ट कार्ड जारी गर्दा लाग्ने सम्पूर्ण खर्च सरकारले नै व्यहोर्ने जानकारी दिए । करिब ३ करोड नेपालीलाई निःशुल्क उपलब्ध गराउँदा स्मार्ट कार्ड खरिदमा मात्रै १० अर्ब ५० करोडभन्दा बढी रकम खर्च हुनेछ ।
एउटा स्मार्ट कार्ड ३ देखि ४ डलरसम्म पर्छ । यसका लागि शतप्रतिशत ‘पोली कार्बोनेट कार्ड को प्रयोग गरिनेछ, जसमा २५ वटा फिचर समावेश गरिनेछ ।
कार्यकारी निर्देशक भट्टराईका अनुसार २०७४ भदौदेखि राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ । यसका लागि केन्द्रले जिल्ला प्रशासन र जिल्ला विकास समितिसँग समन्वय गरी हरेक जिल्ला निर्वाचन क्षेत्रमा टोली खटाउनेछ । पहिलो चरणमा १ लाख १७ हजार परिचयपत्र वितरण गरिनेछ ।



