काठमाडौं, १३ असोज । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका साना जहाज उडाउने पाइलटले महनिामा मुश्किलले सवा २ लाख रुपैयाँसम्म पारिश्रमिक हात पार्छन् । निजी वायुसेवाका पाइलटले त्यसको दोब्बरभन्दा बढी पाउँछन् ।
आजको नागरिक दैनिकमा खबर छ– सँधै तलबघत्ता कम भयो भन्ने गुनासो गर्दै आएका निगमका पाइलटलाई अर्को आरिसलाग्दो अबर छ– निगमकै चिनियाँ जहाज उडाउन आएका एक विदेशी पाइलटले मासिक १६ लाख रुपैयाँ तलब खान थालेका छन् ।
वर्षदिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको चिनियाँ जहाज ‘कमान्ड’ गर्न आएका न्युजिल्यान्डका प्रशिक्षक पाइलट पेनिटालाई वायुसेवा निगमले मासिक १५ हजार अमेरिकी डलर (१५ लाख ९० हजार रुपैयाँ) तलब दिने सम्झौता गरेको छ ।
आफूसँग रहेको १७ सिट क्षमतायुक्त ‘वाई १२–ई’ सिरिजको एक मात्र जहाजलाई कुनै पनि हालतमा उडाउन निगमले दुई महिना लगातार खोजी गरेपछि न्युजिल्यान्डका प्रशिक्षक पाइलट पेनिटालाई भेटेको थियो । आफूसँग रहेका एकमात्र प्रशिक्षक पाइलट आङनुरी शेर्पाले अमेरिकाको स्थायी बसोबास (ग्रीनकार्ड) रहेको भन्दै अकस्मात राजीनामा दिएपछि निगमले बाध्य भएर ठूलो रकम तिर्ने गरी ती पाइलट ल्याएको हो ।



