काठमाडौं/ बंगलादेशमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटका लागि नेपालले राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ क्यानले बुधबार राति इमर्जिङ एसिया कप खेल्ने १५ सदस्सीय नेपाली टिमको घोषणा गरेको हो । नेपाली टिमको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने छन् ।
नेपाली टिममा निर्वतमान कप्तान पारस खड्का र सन्दीप लामिछाने अटाएका छैनन् । दुवै जना युएईमा आयोजना हुने टी-१० क्रिकेटको कारण टिम बाहिर रहेका हुन् । यस्तै बसन्त रेग्मी टिममा परेका छैनन् ।
नेपाली टिममा कुशल भुर्तेलले पहिलोपटक स्थान बनाएका छन् ।नेपाली टिममा कप्तान ज्ञानेन्द्र मल्ल सहित उप -कप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी,करण केसी,विनोद भण्डारी,रोहित कुमार पौडेल,ललित नारायण राजवंशी,पवन सर्राफ,सन्दीप जोरा,सुशन भारी,इशान पाण्डे,आरिफ शेख,अविनास बोहरा,कुशल भुर्तेल अटाएका छन ।प्रतियोगिता नोभेम्बर १२ देखि २४ सम्म हुनेछ ।
प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत,बंगलादेश र हङकङ रहेका छन् । समूह ‘ए’ मा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तान रहेका छन् ।
समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । समूह ‘ए’ को खेल कक्स बजार र समूह ‘बी’ को खेल ढाकामा हुनेछ । सेमिफाइनल र फाइनल खेल मिरपुरमा हुनेछ ।
नेपालले नोभेम्बर १४ मा भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग नोभेम्बर १८ मा खेल्ने छ ।प्रतियोगितामा युएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको हो ।



