काठमाडौं/ १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले शानदार जित हात पारेको छ ।
बिहिबार भएको खेलमा भुटानलाई १ सय ४१ रनले पराजित गर्दै नेपालले शानदार जित निकालेको हो ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले ६ विकेट गुमाएर ९५ रन मात्र बनायो ।
भुटानका मिक्यो दोर्जीले सर्वाधिक २७ रन बनाए । यस्तै सोनाम तोब्गेयले १५, तोब्डेन सिन्गेले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
नेपालका पारस खड्काले २ तथा करन केसी, ललित राजबंशी र पवन सर्राफले समान १/१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो ।
नेपालकालागि कप्तान ज्ञानेन्द्र मल्लले १ सय ७ रनको शतकीय इनिङ्स खेले । शतकसंगै मल्ल नेपालको लागि अन्तराष्ट्रिय टी-ट्वान्टी क्रिकेटमा शतक प्रहार गर्ने नेपालका दोस्रो खेलाडी बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्काले शतक प्रहार गरेका थिए ।
यस्तै भुटानविरुद्ध पारसले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा उप कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ४५ रन बनाए ।
भुटानका कर्मा दोर्जीले २ तथा तोब्डेन सिंगेले १ विकेट हात पारे ।



