
काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टोलीले इङ्ल्यान्ड यू–२३ (सी) टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । बुधबार अखिल नेपाल फुटबल संघ एन्फा र इङ्ल्यान्ड फुटबल एसोसिएसनले मैत्रीपूर्ण खेलका लागि सम्झौता गरेका छन् ।
दुई टोलीबीच होम एन्ड अवेको आधारमा दुई खेल हुनेछन् । पहिलो खेल नेपालले सन् २०२० मार्च २५ मा एन्डरसट एफसीको मैदान खेल्नेछ । दुई टोलीबीचको खेलका लागि एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र इङ्ल्यान्ड फुटबलका लोरेन जोन्सले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
यस्तै सन् २०२१ को मे मा इङ्ल्यान्डको टिम नेपाल आउने छन् । नेपालमा हुने खेलको मिति भने तय भएको छैन । नेपाल र बेलायतबीचको दौत्य सम्बन्ध २०४ वर्ष पुगेको उपलक्ष्यमा मैत्रीपूर्ण खेल हुन लागेको हो ।
इंग्ल्यान्डको ‘सी’ टिमबाट यस अघि जेमी भर्डी, एन्ड्रयु ग्रे जस्ता राष्ट्रिय टिमका खेलाडीले खेल्ने गर्थे ।