एजेन्सी, ८ माघ । बलिउड अभिनेता सैफ अली खानलाई यतिबेला एउटा भनाइका कारण सामाजिक सञ्जालमा ट्रोल गरिएको छ ।
अभिनेता खानले आफ्नो फिल्म ‘तान्हाजीः द अनसङ वारिअर’बारे बोल्ने क्रममा हालै दिएको एक अभिव्यक्ति निकै विवादित बनेको छ । फिल्मबारे कुराकानी गर्ने क्रममा सैफ अलीले ‘यो इतिहास हो भनेर मलाई लाग्दैन’ भनेका थिए । साथै उनले भनेका थिए- ‘अंग्रेज आउनपूर्व इन्डिया(भारत) को कुनै अवधारणा थियो भन्ने मलाई लाग्दैन ।’
सैफ अलीको उक्त भनाइप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा सैफको भनाइको मात्रै विरोध गरिएको छैन । उनका छोरा तैमूर अली खानको नामलाई समेत मानिसले निशाना बनाएका छन् ।
हरेक विषयमा आफ्नो कुरा निर्धक्क राख्ने बलिउडकी चर्चित नायिका कंगना रनौतले समेत सैफ अलीको भनाइप्रति आफ्नो धारणा राखेकी छन् । सैफको भनाइ गलत भएको उनको राय छ ।
सैफको भनाइप्रति कंगना प्रश्न गर्छिन्- भारतवर्ष थिएन भने महाभारत कहाँबाट आयो ? ५ हजार वर्ष पहिला लेखिएको महाकाव्य के हो ? हाम्रा वेदव्यासले लेखेको किताब के थियो ? यो केही मानिसको अवधारणा हो तर श्री कृष्ण महाभारतमा थिए । भारत महान थियो । भारतवर्षका सबै महाराजाले मिलेर महायुद्ध लडेका थिए ।
‘युरोपलाई पनि सानो-सानो देशमा बाँडिएको थियो जसको एक सामूहिक पहिचान थियो, जसको विभिन्न नाम थिए । यसबाट के मिल्यो ? अहिले केही मानिसले भारत नै थिएन भन्न थालेका छन् । यी मानिसहरू भारतलाई विभिन्न टुक्रा भएको देख्न चाहन्छन् । तर ३ टुक्रा बनाएको कुरालाई हाल मानिसहरूले भोगिरहेका छन्’, कंगनाले थपिन् ।
भारतीय जनता पार्टीकी नेतृ मिनाक्षी लेखीले समेत सैफको भनाइप्रति आपत्ति जनाएकी छन् । उनले तुर्कीहरूले पनि तैमूरलाई क्रुर मान्ने बताएकी छन् । ‘तर केही मानिसले आफ्ना सन्तानको नाम नै तैमूर राखेका छन्’, लेखीले भनिन् ।
सैफ र करिनाले आफ्ना छोराको नाम तैमूर राखेपछि निकै विवाद भएको थियो । तैमूर एक तुर्की शासक थिए । उनले १४ शताब्दीमा भारत वर्षमा आक्रमण गरी लुटपात र हत्या गरेको इतिहासकार बताउँछन् ।



