
‘म अभिनेत्री होइन, कलाकार हुँ,’ कुराकानीको सुरुमै लक्ष्मी बर्देवाले आफूलाई चिनाइन् । अभिनेत्रीको आयु छोटो हुने तर कलाकार जीवनभरि सक्रिय रहने उनको तर्क छ । कक्षा ६ मा अध्ययनरत छँदै ‘सुन्दर मेरो नाम’ चलचित्रमा पहिलो पटक क्यामेरा फेस गरेकी बर्देवाले प्लस टु सकेपछि अभिनय यात्रालाई गति दिएकी हुन् ।
आफ्नी आमाले नर्सको भूमिका निर्वाह गरेको चलचित्रको छायांकन हेर्न ओम अस्पताल पुगेका बेला लक्ष्मीलाई निर्देशकले पहिलो पटक अभिनय गराएका थिए । दीपकराज गिरी, गरिमा पन्तजस्ता कलाकारको स्टारडम देखेर भविष्यमा कलाकार बन्ने संकल्प गरेको उनी बताउँछिन् । हुर्कंदै गएपछि लक्ष्मीमा जुन पेसाको व्यक्ति देख्यो त्यही बन्ने भूत सवार भएको रहेछ । ‘डाक्टर देख्यो डाक्टरै बन्न मन लाग्ने, नर्स देख्यो नर्स बन्न रहर लाग्ने उमेर आउँदो रहेछ,’ लक्ष्मी सम्झन्छिन्, ‘अन्ततः मेरो भाग्यमा अभिनय लेखेको रहेछ, मण्डला थिएटर पुगेपछि मेरो करियरको बाटो मोडियो ।’
मण्डला थिएटरमै पाँच वर्षअघि मञ्चित ‘उम्बुगल्यान्डको मुठभेड’ नाटकबाट प्रारम्भ भएको उनको अभिनय यात्रा झन्डै एक दर्जन नाटक हुँदै अघि बढ्यो । यो अवधिमा उनले ‘माथा पन्चर’, ‘जार’, ‘उपियाँको निबन्ध’, ‘बार्ह दुर्वाशा’ जस्ता नाटकमा अभिनय गरिन् । चलचित्र ‘माला’बाट उनको ठूलो पर्दाको यात्रा प्रारम्भ भयो । त्यसपछि उनले ‘घामपानी’, ‘मिस्टर झोले’, ‘जालो’, ‘राज्जा रानी’, ‘बुलबुल’, ‘डमरुको डन्डीबियो’ जस्ता चलचित्रमा अभिनय गरिन् । ‘निरफूल’, ‘प्रेमगीत–३’ तथा ‘सेल्फी किङ’ उनका आगामी चलचित्रहरू हुन् ।
‘अब मैले अभिनयको ट्र्याक परिवर्तन गर्ने निर्णय गरेकी छु,’ एकै प्रकारको भूमिकाका लागि आएका प्रस्तावबाट दिक्क भएकी लक्ष्मी भन्छिन्, ‘म हरेक प्रकारका भूमिकाका लागि फिट छु ।’ सबै भूमिकामा फिट हुन भन्दै उनले दुई महिनामा ७ केजी वजन घटाएको दाबी गरिन् । लक्ष्मीको यो नयाँ अवतार कुन चलचित्रमा प्रस्तुत हुने हो, हेर्न बाँकी छ ।
—कृष्ण भट्टराई/ तस्बिर : महेश प्रधान, साप्ताहिक बाट साभार