
काठमाडौं, १५ असोज ।नेपालीको महान् चाड विजयादशमी नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । सर्वसाधारण क्षमताअनुसारको किनमेलमा व्यस्त हुन थालेका छन् ।
आजको नयाँ पत्रिकामा खबर छ–परिवारसँगै मिठोमसिनो खाएर सन्तोषले दसैं मनाउने तयारीमा छन् । तर, जिल्ला कारागार सिन्धुलीका कैदीबन्दी भने कसैले दया देखाए दसैं मान्ने आसमा छन् ।
दसैं मान्न सरकारले दिएको प्रतिकैदी तीन सय रुपैयाँले एक छाक पनि पेटभरि खान नपुग्ने भएपछि उनीहरु कसैले सहयोग गरे मीठो खाने र आपसमा टीका लगाएर दसैं मान्ने आसमा छन् ।
‘बजार मूल्यअनुसार यो रकमले हाल एक किलो कुखुराको मासु पनि आउँदैन, अन्य मरमसला त कता हो कता,’ कारागारका चौकीदार मित्रलाल श्रेष्ठले भने । नेपाल सरकारले प्रतिकैदी दैनिक रासनबापत सात सय ग्राम चामल र ४५ रुपैयाँ नगद उपलब्ध गराउँछ । तर उक्त रकमले खाना पकाउने दाउरा, नुन, तेल, मरमसला, दाल, चामलदेखि तरकारीसम्म पु¥याउनुपर्ने बाध्यता रहेको श्रेष्ठले बताए ।