
काठमाडौं, १६ असोज ।हतियार हराएको घटनामा सेनाको आन्तरिक अनुसन्धानका क्रममा दिइएको दबाब र कुटपिट सहन नसकेर सैनिक हवल्दार दीपकबहादुर खड्काले आत्महत्या गरेको आशंका गरिएको छ ।
आजको नागरिक दैनिकमा खबर छ– खड्काको सुसाइड नोटमा पृतनाभित्र भइरहेको कुटपिट सहन नसक्ने अवस्थामा पुगेको व्यहोरा रहेको सुरक्षास्रोतले जनाएको छ ।
‘हतियार हराएपछि शंकास्पद सबैलाई मनपरी दैनिक कुटपिट र अन्य शारीरिक तथा मानसिक दबाब दिइएको देखियो,’ स्रोतले भन्यो ।
सेनाको सुदुरपश्चिम पृतनाको गरुडदल गुल्मबाट गत साउन २१ गते हतियार हराएको थियो । त्यसको अनुसन्धान चलिरहेका बेला हवल्दार खड्काले पृतनाभित्रै आफ्नै हतियारले कन्चटमा गोली हानी आत्महत्या गरेका थिए ।
हराएको हतियार खोज्न सेनाले गठन गरेको ‘कोर्ट अफ इन्क्वाइरी’ले डेढ महिनाभन्दा लामो अनुसन्धान गरिसकेपछि असोज पहिलो साता सेनाकै आग्रहमा प्रहरी टोली सुदूरपश्चिम पुगेको थियो ।
प्रहरी अनुसन्धान अलिरहेकै बेला असोज ७ मा पृतनाकै गेट नम्बर २ को कापमा हराएको हतियार र गोलीगठ्ठा भेटिएको थियो ।