बलिउड अभिनेता सोनु सुदले लकडाउनका बेला गरिब तथा विपन्नको सहयोग गरेर सबैको दिलमा बस्न सफल भएका छन् । प्राय फिल्ममा भिलेनको भूमिका निभाउने सोनुले वास्तविक जिन्दगीमा एक हिरोभन्दा पनि माथिल्लो स्तरको काम गरेका छन् । करोडौं रुपैयाँले गरिब तथा विपन्न परिवारलाई सहयोग गरेका छन् ।
सोनुको कामबाट खुसी भएर तेलंगानामा केही प्रंशसकले यस्तो काम गरे, जसलाई देखेर सबै हैरान भएका छन् । तेलंगानाको सिद्दीपेट जिल्लास्थित डब्बा टाँडा गाउँमा स्थानीयले सोनुको सम्मानमा एक मन्दिर निर्माण गरेका छन् । आइतबार उक्त मन्दिरको उद्घाटन पनि गरिएको छ ।
मन्दिर उद्घाटनसँगै उनको आरती पनि उतारिएको छ । महिलाले पारम्पारिक पोशाक लगाएर लोक गीत पनि गाए । कोरोना प्रभावका कारण लकडाउनमा आपत्मा परेका असहाय तथा विपन्नलाई सहयोग गरेर सोनु सुद गरिबका लागि मसिहा बनेका छन् ।
यो मन्दिर बनाउने समूहका हिस्सा रहेका रमेश कुमारले भने, ‘सोनु सुदले देशका २८ राज्यका विपन्नलाई सहयोग गरे । जसरी महामारीका कारण लकडाउनपछि पनि सोनु मद्यत गरिरहेका छन् ।’
सोनु सुदलाई संयुक्त राष्ट्रद्वारा एजडीजी स्पवेशल ह्युमेनिटिरियन एक्सन अवार्ड प्राप्त भएको थियो । यस कारण गाउँका तर्फबाट उनलाई मन्दिर बनाइएको हो ।



