आश्विन १९, २०७३- दिनहुँ सवारी जाम हुने नारायणगढ–मुग्लिन सडक खण्ड केही दिनयता सहज बन्दै गएको छ । जाम घटेपछि यात्रु र चालकले राहत महसुस गरेका छन् । दसैंमा यात्रु चाप बढ्ने अवस्था मध्यनजर गर्दै सडक आयोजनाले सडकका खाल्टाखुल्टी पुरेर कालोपत्रे गरेको छ । स्थानीय प्रशासनको अगुवाइमा दुई सातादेखि सरकारी र निजी क्षेत्रले सडक मर्मत थालेका थिए ।

मुलुकको ‘लाइफ लाइन’ का रूपमा रहेको सडक खण्ड विस्तारका नाममा काम अलपत्र छाडिँदा डेढ वर्षयता यात्रुले हैरानी बहोर्दै आएका थिए । त्यसमाथि दिनहुँ खस्ने पहिरोले समस्या बढाउँदा राजधानी लगायत देशभरको सवारी आवागमन प्रभावित थियो ।

पहिरो हटाएर खाडल पुरिएपछि यात्रा सहज भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । ‘खाल्टाखुल्टीले सवारी चलाउन अप्ठेरो थियो,’ उनले भने, ‘अहिले विभिन्न स्थानमा गिटी भरेर कालोपत्रे गरिँदैछ ।’ आयोजनाले यति बेला आँपटारीचोक, जुगेडी, गाईघाट र मुग्लिननजिक काम गरिरहेको छ । उक्त खण्डमा धुलो कम गर्न तीन वटा ट्यांकरले पानी हालिरहेका छन् । तत्काल पहाड काट्ने काम बन्द गरिएको छ ।

यात्रुलाई सास्ती नहोस् भनेर सडक सहज पार्ने कामलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बताए । अवागमन सहज बनाउन स्थानीय प्रशासनले सहकार्य गरिरहेको छ । उक्त खण्डमा पहिरो खसे तत्काल पन्छाउन लोडर, ग्रेडर, ट्रिपर, पानीट्यांकर र १८ कामदार तयारी अवस्थामा राखिएको छ । बीच सडकमा सवारी बिग्रिए तत्काल हटाउन क्रेन तमतयार राखिएको छ । पहिले जामकै कारण डेढ घण्टाको सडक पार गर्न चार घण्टासम्म लाग्ने गथ्र्यो ।

अत्यधिक जोखिममा रहेका ११ मध्ये १० स्थानमा एक महिना यता पहिरो खसेको छैन । जिल्ला प्रहरी प्रमुख एसपी वसन्त कुँवरले सडकमा प्रहरी निरीक्षकको नेतृत्वमा चौबीसै घन्टा सुरक्षाकर्मी परिचालन गरिएको बताए । ‘जतिखेर पनि सवारी जाम हुने समस्या हटेको छ,’ उनले भने, ‘अब ठूलै पहिरो नखसे अन्य कारणले जाम हुने अवस्था छैन ।’ आयोजनाले दुर्घटनाको तीव्र जोखिम रहेका ३२ स्थानमा प्यारापिट निर्माणसमते अघि बढाइरहेको छ ।

सडक मर्मत गरिने
गुल्मी– वर्षाले बिग्रेर यातायात सञ्चालनमा कठिनाइ भएका सडक जिविसले मर्मत गर्ने भएको छ । जिल्ला यातायात गुरुयोजनामा परेका ४० र नपरे पनि अत्यावश्यक १२ गरी ५२ सडक मर्मतका लागि बजेट छुट्याइएको हो । यसका लागि एक लाखदेखि एक लाख ६० हजार र गाविसस्तरमा एक लाख रुपैयाँ छुट्याइएको छ । जिल्लाका मुख्य ठूला सडक बाहेक गाउँ जोड्ने अधिकांश सडकमा असारदेखि नै यातायात ठप्प छ । जिविसले उपभोक्ता समितिमार्फत काम गर्ने गरी रकम उपलब्ध गराउने भएको हो ।

‘बिग्रेर यातायात नचलेका सबै सडक मर्मत गर्न निर्देशन दिएका छौं’, स्थानीय विकास अधिकारी डिलाराम पन्थीले भने, ‘पहिलो चरणमा अत्यावश्यक ५२ वटा सडक छनोट भएका छन् ।’ धेरै सवारी चल्ने रुद्रवेणी–अस्लेवा–ठूलोलुम्पेक, शान्तिपुर–हर्राचौर–ओलिबाङ दह, सिन्दुरघसे–बागलुङ, पूर्तिघाट, शान्तिपुर–फोक्सिङ, वामी–अर्लाङकोट, पञ्चमीपोखरी र अग्लुङ फेंदी हुँदै प्यूठान, सिलादी–घमिर–अर्खाबाङ, पौदीअमराई–नेटा दर्लिङ र ह्वाङ्दीलगायतका दुर्गमसम्म पुग्ने सडक मर्मत सुरु गरिएको उनले बताए । जिविसले मर्मत गर्नुपर्ने अधिकांश सडकमा असारको पहिलो सातादेखि नै यातायात आवागम बन्द थियो । कान्तिपुर बाट सभार गरिएको । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय