१९ असोज, हुम्ला । हिमाली जिल्ला हुम्ला अथाहा पर्यटकीय सम्भावना बोकेको जिल्ला हो । मानसरोवरको प्रवेशद्वार भनेर चिनिने हिल्सा हुम्लाको उत्तरी नाका हो । लाखौंको संख्यामा भारत लगायतका देशहरुबाट धार्मिक पर्यटकहरु हुम्लाको सिमिकोट विमानस्थलबाट यसै मार्ग हुँदै तिब्बतको कैलाश मानसरोवर जाने गरेका छन् । खार्पुनाथलाई कैलाशको मानसरोवरको प्रवेशद्वार पनि भनिन्छ ।
मानसरोवर जाने पर्यटकहरु सुर्खेत र नेपालगञ्ज विमानस्थल हुँदै हुम्लाको सिमिकोट विमानस्थल पुग्छन् । सिमिकोटबाट हिल्सा नाकासम्म हेलिकप्टर प्रयोग गरेर गरिन्छ । त्यसैले गर्दा सिमिकोट विमानस्थल काठमाडौं पछिको दोश्रो व्यस्त विमानस्थल मानिन्छ ।
यसपटक सिमिकोट विमानस्थलले सोलुखुम्बुको लुक्लालाई पनि उछिनेको छ । असारदेखि भदौसम्म दैनिक १७ देखि २१ वटा हवाईजहाजले उडान भर्दै आएको नागरिक उड्डेयन कार्यालय हुम्लाले बताएको छ ।
‘सिमिकोटबाट हिल्सासम्म पैदलमार्ग हुँदै जान कम्तीमा पनि तीन दिन लाग्छ । तर, हेलिकप्टरमा १७ मिनेटमा नै पुग्न सकिन्छ । त्यसैले पर्यटकहरु हेलिकप्टरबाट नै कैलाश मानसरोवर जाने गरेका छन्,’ हुम्ला कांग्रेसका सभापति जयपति रोकायाले भने ।
सिमिकोटबाट हिल्सासम्म श्री, मनाङ र डाइनेस्टी एयरलाइन्सका ४ वटा हेलिकप्टरहरुले दैनिक उडान भर्दै आएका छन् । जेठदेखि भदौको दोस्रो हप्तासम्म दश वटा हेलिकप्टरहरुले नियमित फ्लाइट गर्दै आएका थिए । एउटा हेलिकप्टरले दैनिक १० देखि १२ पटकसम्म फ्लाईट गर्छ । एक दिनमा २५० जनासम्म पर्यटकलाई हेलिकप्टरले हिल्सा लगेर छाड्ने गरेको छ ।
बिभिन्न एयरलाइन्सका हेलिकप्टरहरु भाडामा लिएर ट्रेकिङ एजेन्सीहरुले यस्तो व्यवसाय गर्दै आएका छन् ।
सिमिकोट विमानस्थल कच्ची हुन्जेल कैलाश मानसरोवर जाने पर्यटकहरु मोटरबाटोको प्रयोग गरेर सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै धेरै दिन लगाएर तिब्बतको मानसरोवर जाने गरेका थिए । यसले नेपाललाई त्यति फाइदा हुँदैनथियो । सिमकोटमा पनि त्यति फ्लाइट हुँदैनथियो ।
जीवनबहादुर शाही हुम्लाको जिल्ला सभापति बनेपछि सिमिकोट विमानस्थल पिच गर्न पहल गरे । विमानस्थल पक्की बनेपछि तातोपानी हुँदै मानसरोवर जाने पर्यटकहरु डाइभर्ट भएर सिमिकोट, हिल्सा हुँदै कैलाश मानसरोवर जाने छोटो रुट प्रयोग गर्न थाले । तातोपानी हुँदै मानसरोवर जानेक्रम रोकियो ।
पर्यटकहरु तातोपानी हुँदै मानसरोवर जाँदा नेपालमा २० प्रतिशत र तिब्बतमा ८० प्रतिशत खर्च गर्थे । अहिले सिमिकोट हिल्सा हुँदै मानसरोवर पुग्दा पर्यटकहरुले नेपालमा ८० प्रतिशत र तिब्बतमा २० प्रतिशत खर्च गर्ने गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डेयनमन्त्री जीबनबहादुर शाहीले बताए ।
सिमिकोटबाट हेलिकप्टरमा पर्यटक सिधै हिल्सा जाने भएपछि हुम्लीहरुलाई कुनै फाइदा हुँदैन भन्दै व्यापक बिरोध भयो । विमानस्थलभित्र नै आन्दोलन र तोडफोड हुन थाल्यो । तर हेलिकप्टरबाट जान नपाउने हो भने भारतीय पर्यटकहरु आउँदैनन् भन्दै शाहीले हेलिकप्टर खुलाउन ठूलो संघर्ष गर्नुपर्यो ।
यस विषयमा पर्यटनमन्त्री समेत रहेका शाहीले भने ‘हामीलाई डाइरेक्ट फाइदा नभए पनि इनडाइरेक्ट रुपमा धेरै फाइदाहरु छन् । टुरिस्टहरु आएपछि होटलमा बस्छन् । होटेलले पनि राज्यलाई कर तिरेको छ । जनताका दूध, चामल, सागसब्जी होटलले लिने भएकाले यसबाट पनि जनताले फाइदा लिन सक्छन् ।’
विमानस्थल स्तरोन्नतीको पहल
मन्त्री शाहीले हेलिकप्टर कम्पनीले पनि राज्यलाई कर तिरेको र सिमिकोट विमानस्थलमा हेलिकप्टरले ‘नाइट स्टे’ गर्दा एयरपोर्ट चार्ज र स्थानीय विकास शुल्क तिर्ने हुँदा त्यसले पनि फाइदा हुने बताए ।
शाहीले आफू जिविस सभापति हुँदा पिच गर्न लगाएको एयरपोर्ट अहिले साँघुरो भएको र पार्किङमा समेत समस्या रहेको भन्दै विमानस्थलको स्तरउन्नतिको लागि जग्गा अधिग्रहण गर्न तत्काल पाँच करोड रकम निकासा गरेका छन् ।
उनले विमानस्थलमा रहेका पर्यटकसँग कुरा गर्दा गुनासो सुनेपछि सात दिन भित्र शौचालय र प्रतिक्षालय निर्माण गर्न तथा सिमिकोट विमानस्थलमा उत्रने बित्तिकै पर्यटकहरुलाई खादा लगाएर स्वागत गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
संस्कृतिमन्त्री समेत रहेका शाहीले पशुपतिनाथ, केदारनाथ लगायतका धामहरु जस्तै हुम्लाको खार्पुनाथ भएपनि प्रचार र संरक्षण हुन नसक्दा ओझेलमा परेको स्वीकार गरे । स्कन्द पुराणमा समेत खार्पुनाथमा शंकर आएर बास बसेको लेखिएको उल्लेख गर्दै उनले यसलाई कैलाश मानसरोवर प्रवेशद्वारको रुपमा निर्माण गर्ने बताए ।
तस्वीर: सुनिल सापकोटा





