काठमाडौं–सरकारले मापदण्ड बनाएर देशभरीका सिनेमाहरु पुन: सञ्चालन गरेको केही साता भैसकेको छ ।औपचारिक रुपमा सिनेमा हल खुलेपछि सबैभन्दा पहिला गत माघ १ गतेदेखि शिव श्रेष्ठको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन भयो ।यद्यपि, उक्त फिल्मले दर्शकको ठूलो संख्यालाई सिनेमा हलसम्म तान्न सकेन।शायद यसै कारणले होला उक्त फिल्म प्रदर्शन भएको केही साता बितिसक्दा समेत नयाँ नेपाली फिल्म सिनेमा हलमा आउन सकेका छैनन् ।पुस १० गतेदेखि खुलेका सिनेमा हलमा माघ १ गतेदेखि नयाँ फिल्म प्रदर्शन भए पनि पहिलो फिल्म नै नचलेपछि निर्माता तथा वितरकहरु
नयाँ फिल्म प्रदर्शन गर्न हिच्किचाइरहेका छन् ।यतिबेला माघको तेस्रो सातादेखि फागुनको तेस्रो साता प्रदर्शन हुने फिल्मको नाम अहिलेसम्म सार्वजनिक भएको छैन।अर्थात, यो एक महिना सिनेमा हलहरुले नयाँ नेपाली फिल्म पाउने सम्भावना अत्यन्त कम छ।यसैबीच आगमाी फागुन २१ गतेदेखि मात्र नयाँ फिल्म ‘गोर्खे’ प्रदर्शन हुने निश्चित भएको छ।त्यसो त उक्त फिल्म प्रदर्शन भएको एक सातापछि नै ‘लप्पन छप्पन–२’ शीर्षकको फिल्म प्रदर्शन हुने भनिएको थियो, तर यो फिल्म अब चैत २७ गतेमात्र प्रदर्शन हुने भएको छ ।फिल्मको प्राविधिक कार्य सम्पन्न नभएकाले यसलाई एक महिनापछि सारिएको बताइन्छ।यो फिलमलाई मुकुन्द भट्टले निर्देशन गरेका छन् ।लप्पन छप्पन–२ मा शिव श्रेष्ठ, सौगात मल्ल, अनुप विक्रम शाही, अर्पण थापा, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल आदि कलाकारले अभिनय गरेका छन्।यसअघि नै नयाँ वर्ष २०७८ को पूर्व सन्ध्यामा प्रदर्शन हुने थप दुई फिल्महरु यसअघि नै चर्चामा छन्
अभिनेता पुष्प खड्का तथा अभिनेत्री वर्षा सिवाकोटीको फिल्म ‘मनसँग मन’ चैत २७ गतेदेखि नै प्रदर्शन हुने यसअघि नै घोषणा गरिएको छ।त्यस्तै, निर्देशक दीपक ओलीको ‘कृष्ण लीला’ पनि यही दिन प्रदर्शन हुने चर्चा छ । कृष्ण लीलामा पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य भूमिका छ।संजोग कस्तो परेको छ भने यी दुबै फिल्ममा अभिनेता पुष्प खड्का नै मुख्य भूमिकामा छन् ।त्यसैले पनि यी दुबै मध्ये एउटा फिल्म ब्याक हुन सक्ने सम्भावना पनि उत्तिकै छ ।लामो समयदेखि बन्द रहेका सिनेमा हल भरखरै खुल्नु, हल खुले पनि नयाँ फिल्मले दर्शकलाई आकर्षित नर्ग नसक्नु तथा केही समयपछि नै एकै दिन तीन–तीन वटा नयाँ नेपाली फिल्महरु प्रदर्शन हुँदा दर्शकहरु नबाँडिएलान् भन्न सकिन्न ।एउटै मितिमा दुई भन्दा बढी फिल्म प्रदर्शन गरेर दर्शकहरुको संख्या घटाउनु भन्दा सहमभतिमै एक–एक हप्ताको अन्तरालमा नयाँ–नयाँ फिल्म प्रदर्शन गरेर निर्मातालाई लगानी सुरक्षित गर्ने मौका प्रदान गर्नेतर्फ खोच्ने कि ?



