नमुना कलेज अफ फेसन टेक्नोलोजीमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औँ ब्याचका ७९ जना विद्यार्थी डिजाइनरहरूले आफ्नो सृजनशीलता र परिकल्पनालाई पहिरनमा प्रस्तुत गरे ।यस पटक प्रस्तुत गरिएको ग्र्याजुएसन फेसन सोमा नारीको साहस, आत्मविश्वास, क्षमता, त्याग, समर्पण, सहनशीलता, वात्सल्य, धैर्यता, निर्भीकता, निडरता, विनम्रता लगायतलाई प्रस्तुत गरियो । नारी जीवन र व्यक्तित्वका बहु आयामिक गौरवशाली पक्षहरूलाई ‘अस्तित्व’ शीर्षक अन्तर्गत आठ वटा विभिन्न सिक्वेन्स मार्फत पहिरनका विभिन्न स्वरूप, डिजाइन र शैलीलाई प्रस्तुत गरिएको थियो ।७९ वटा पहिरनहरूमा चाहे त्यो फ्याब्रिकको छनौट होस् वा रङ्गको सम्मिश्रण, डिजाइन र शैलीको विविधता होस् हरेक पहिरनले नारी व्यक्तित्वलाई आकर्षक ढङ्गबाट प्रस्तुत गरेको देख्न पाइयो, चार वर्षे फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको ब्याचलर अफ फेसन डिजाइन एन्ड म्यानेजमेन्टको अन्तिम परीक्षा अन्तर्गतको उक्त फेसन शोको अर्को महत्त्वपूर्ण पाटो मास्कको फेसन पनि रह्यो ।हरेक पहिरनसित सुहाउँदो मास्क सहित मोडलहरू मञ्चमा उत्रिदा हालको कोभिड १९ को जटिल परिस्थितिलाई पनि सुन्दर रूपमा सम्बोधन गर्न खोजिएको थियो ।
यो बाहेक फेसन कार्यक्रममा नेपालमै पहिलो पटक मोडलले लगाएको पहिरनकै हुबहु स्वरूपमा सजाइएको पुतली सहित हरेक पहिरनका सृजनाकर्ता पनि स्टेजमा प्रस्तुत हुँदा कार्यक्रममा थप रौनकता छाएको थियो ।नमुना कलेज अफ फेसन टेक्नोलोजीका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधर सहित मोडलहरू रनवेमा उपस्थिति भएसँगै शुभारम्भ भएको उक्त फेसनमय यात्रा कार्यक्रमका कोरियोग्राफर रोजिन शाक्यको रनवे हिँडाइ पछि बिट मारेको थियो । उक्त फेसन कार्यक्रममा २० जना युवती मोडलहरूले प्रस्तुति दिएका थिए । जस अन्तर्गत आधा प्रतिशत व्यावसायिक मोडलहरू थिए भने आधा प्रतिशत नमुना कलेजमै विभिन्न सेमेस्टरमा अध्ययनरत विद्यार्थी डिजाइनरहरू थिए ।




















