आश्विन २९, २०७३- महमाई र दानाबारीबीचको माइखोलामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा वेपत्ता भएका मध्ये थप दुई जनाको शव फेला परेको छ ।
झापाको शिवगञ्जमा एक महिला र एक पुरुषको शव शनिबार विहान फेला परेको हो । फेला परेका झापाको शनिअर्जुन नागरपालिकाका कृष्णकुमार घतानीको पहिचान भएको प्रशासनले जनाएको छ । महिलाको सनाखत हुन बाँकी छ । शुक्रवार साँझसम्म प्रहरीले पाँच जनाको शव फेला पारेको थियो ।
वेपत्ताको खोजी कार्य शनिबार बिहानैबाट सुरु भएको हो । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीसहित स्थानीयवासी खोजी कार्यमा जुटेका हुन् । बिहानैदेखि संयुक्त टोलीले दुर्घटनाग्रस्त क्षेत्रबाट खोजतलास सुरु गरेको हो । ‘लाइफ ज्याकेट, हेल्मेट, डोरीलगायत आवश्यक सवै सामाग्री लिएर खोजीमा जुटेका छौं,’ मेजर हरिकुमार पाण्डेले भने, ‘जिवित या मृत जस्तो अवस्थामा पनि हामी निकाल्न सक्छौं ।’
दुर्घटनामा बचेकाहरु सवै सम्पर्कमा नआउदा वेपत्ताको यकिन हुन सकेको छैन । अहिलेसम्म प्रहरीले पाँच जनाको शव फेला पारेको छ ।
अविरल वर्षाका कारण खोलाको वहाव ठूलो भएको बेला क्षमता भन्दा धेरै यात्रु ओसार्दा दुर्घटना भएको थियो । मौसममा सुधार आएकाले खोजी कार्य सहज हुने प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले वताए । प्रहरीले फेला पारेका पाँच शवमध्ये तीनको पहिचान भएको छ । प्रहरीका अनुसार सनाखत भएकामा महमाई १ का ७५ वर्षीय जसबहादुर राई, ४५ वर्षीया डम्वरमाया मगर र मधुमल्लाकी ६ वर्षीया पुष्पा खड्का छन् ।
३४ जनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ ।
निकालिएका शवलाई दानाबारीस्थित नमुना सामुदायिक भवनमा राखिएको छ । अझै पनि केकति वेपत्ता भएका छन् भन्ने यकिन भएकाले समस्या भएको प्रजिअ दाहालले वताए । ‘झापाको सुरक्षा निकायसँग पनि समन्वय गरेर दोमुखा क्षेत्रबाट पनि टोली परिचालन गरी खोज कार्यलाई थप प्रभावकारी बनाउने प्रयासमा छौं,’ उनले भने । सदरमुकाम टाढा चुरे क्षेत्रमा रहेको दुर्घटनास्थल क्षेत्र भौगोलिकरुपमा विकट रहेकाले पनि उद्धार र खोजतलाशमा समस्या छ ।
यात्रा गर्ने अधिकांशको पैसालगायत ठूलो परिमाणका सरसामान हराएका छन् । सकुशल निस्किएकाहरुका अनुसार ४५ देखि ५० यात्रु डुङ्गामा थिए । वेपत्ता भएका अधिकांश महिला, बृद्ध र बालबालिका रहेको महमाईका हेम कुमालले वताए ।



