युरो कप अन्तर्गत शुक्रबार (आज) बाट क्वाटरफाइनलमा खेल सुरु हुँदैछन् । आज हुने खेलमा स्पेनले स्विट्जरल्यान्डको सामना गर्दा इटाली र बेल्जियम आमने-सामने हुने छन् ।
नेपाली समयअनुसार राति पौने १० बजे रुसको सेन्ट पिटर्सबर्गमा स्पेनले स्विट्जरल्यान्डको सामना गर्नेछ ।
एक अर्काविरुद्ध मैदान उत्रिँदा दुवै टोलीको लक्ष्य सेमिफाइनल हुनेछ । पछिल्लो समय निकै आकर्षक फुटबल खेलिरहेका यी दुई टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान लगाउन सकिन्छ ।
स्पेनले फिफा विश्वकप उप विजेता क्रोएसिया तथा स्विट्जरल्यान्ड विश्वकप विजेता फ्रान्सको चुनौतीलाई पार गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
यो खेलको विजेताले सेमिफाइनलमा इटाली र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
जर्मनीको म्युनिखमा नेपाल समय अनुसार राति पौने १ बजे हुने खेलमा उपाधि दाबेदार मानिएका दुई टोली इटाली र बेल्जियमले एक अर्काको सामना गर्नेछन् ।
प्रतियोगितामा अपराजित रहेको इटाली बेल्जियविरुद्ध पनि सोही नतिजालाई कायम राख्दै सेमिफाइनल प्रवेश गर्ने प्रयासमा हुनेछ ।
अहिलेसम्म हार नबेहोरेको बेल्जियम पनि इटालीको चुनौतीलाई पार गर्दै सेमिफाइनल पुग्ने दाउमा हुनेछ ।
उपाधि दाबेदारबीचको यो खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान लगाउन सकिन्छ ।
इटालीले अस्ट्रिया र बेल्जियमले साविक विजेता पोर्चुगललाई हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।
यो खेलमो विजेताले सेमिफाइनलमा स्पेन र स्विट्जरल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।