यूरो २०२० को दोस्रो सेमिफाइनलमा आज इंग्ल्याण्डले वेम्ब्ले स्टेडियममा डेनमार्कको सामना गर्दैछ । आजको खेलमा जीत हासिल गरे इंग्ल्याण्डले सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा स्थान बनाउने छ । आजको सेमिफाइनल खेलको विजेताले आइतबार फाइनलमा इटालीको सामना गर्नेछ ।
‘फुटबलमा हाम्रो इतिहास त्यति सुखद् छैन,’ इंग्ल्याण्डका म्यानेजर ग्यारेथ साउथगेटले भने, ‘ तर यी खेलाडीहरुले सबै अवरोधहरु चिर्दै अघि बढिरहेका छन् । हामी यसअघि कहिले पनि यूरोपियन च्याम्प्यिनसीपको फाइनलमा प्रवेश गरेका छैनौँ । हामी त्यो उपलब्धि हासिल गर्ने इंग्ल्याण्डको पहिलो टोली हुनेछौँ । त्यसैले हामी उत्साहित छौँ ।’
बढ्दो कोरोनाभाइरस संक्रमणका कारण बेलयातले यात्रामा प्रतिबन्ध लगाएका कारण डेनमार्कका फ्यानहरु बेलायत आउन पाउनेछैनन् । बेलायतमा नै रहेका डेनिस फ्यानहरुलाई भने ६ हजारवटा टिकट छुट्याइएको छ । डेनिस फुटबल एसोसिएसनले बेलायतमा रहेका फ्यानहरुलाई १ हजारवटा जर्सीका लगायत अन्य सामग्रीहरु उपलब्ध गराएको छ ।
हालसम्म युरोपियन च्याम्पियनसीप नजितेको इंग्ल्याण्ड ५५ वर्षमा पहिलोपटक मुख्य प्रतियोगिताको फाइनलमा पुग्ने लक्ष्यमा रहेको छ । यसअघि विश्वकप र युरोपियन च्याम्पियनसीपको सेमिफाइनलमा ५ पटक पुगेपनि इंग्ल्याण्ड एक पटकमात्र प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ । उक्त फाइनलमा विजयी बन्दै इंग्ल्याण्डले सन् १९६६ मा विश्वकपको उपाधि जितेको थियो ।
के साउथगेटले रणनीतिमा परिवर्तन गर्नेछन् ?
घाइते भएर युक्रेनविरुद्धको खेल गुमाएका आर्सनलका १९ वर्षीय विंगर फिट भएका छन् । त्यही भएर साउथगेटले अब रोममा खेलेको त्यही शुरुवाती ११ लाई निरन्तरता दिन्छन् वा परिवर्तन गर्छन् भन्ने हेर्न बाँकी रहेको छ । पछिल्लो खेलमा ४–२–३–१ को फर्मेसन प्रयोग गरेका साउथगेटले आजको खेलमा पुरानै ३–४–३ को फर्मेसन प्रयोग गर्छन् भन्ने पनि चासो रहेको छ ।
डेनमार्कका म्यानेजर कास्पर ह्जुल्मान्डलाई भने चोटग्रस्त खेलाडीको समस्या छैन र उनले लगातार तेस्रो खेलमा त्यही शुरुवाती ११ उतार्न सक्ने सम्भावना रहेको छ । खेलाडीहरुको थकान भने उनका लागि चिन्ताको विषय हो ।
यूरो २०२० मा इंग्ल्याण्डले नकआउट चरणमा जर्मनीलाई ५५ वर्षपछि हराउन सफल रह्यो । तर, साउथगेटलाई थाहा छ कि यसअघि पनि इंग्ल्याण्ड लक्ष्य नजिक पुगेर थुप्रै पटक निराश बन्न परेको इतिहास रहेको छ । पछिल्लो चार सेमिफाइनलमा इंग्ल्याण्डले लगातार हारको सामना गर्नुपरेको छ । सन् २०१८ को विश्वकपमा पनि अतिरिक्त समयमा क्रोएसियासँग पराजित हुँदै इंग्ल्याण्ड प्रतियोगिताबाट बाहिरिनुपरेको थियो ।
डेनमार्कको चुनौति
डेनमार्क यो प्रतियोगिताको कथा बनेको छ । पहिलो खेलमा नै क्रिस्टियन एरिक्सनलाई कार्डियाक एरेस्टका कारण गुमाएको डेनमार्क त्यसयता स्वप्निल यात्रामा रहेको छ । उता, एरिक्सन पनि अस्पतालबाट डिस्चार्ज पनि भइसकेका छन् । डेनमार्कले पहिलो दुई खेल फिनल्याण्ड र बेल्जियमसँग गुमायो । त्यसपछि लगातार तीन खेल जित्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
डेनर्माकले सन् १९९२ मा महाराथी जर्मनीलाई स्तब्ध बनाउँदै युरो कपको उपाधि जितेको थियो । त्यही कथा दोहोर्याउन डेनमार्कसामु अब दुई खेलमात्र बाँकी रहेको छ । तर, घरेलु मैदानको फाइदा रहेको इंग्ल्याण्ड उसको सामु ठूलो चुनौति हुनेछ ।
सम्भावित शुरुवाती ११
इंग्ल्याण्ड – पिकफोर्ड, वाकर, स्टोन्स, म्याग्वायर, लुक श, फिलिप्स, राइस, साका, माउन्ट, स्टर्लिङ, केन ।
डेनमार्क – स्माइकल, क्रिस्टिएन्सन, जायर, भेस्टरगार्ड, स्ट्राइजर, होजबर्ग, डिलाने, महाले, ब्राथवेट, डोल्बर्ग, डाम्सगार्ड ।
हेड टू हेड
–इंग्ल्याण्डले पछिल्ला ६ प्रतिस्पर्धात्मक खेलमा डेनमार्कलाई मात्र एक पटक हराएको छ । सन् २००२ को विश्वकपको अन्तिम १६ मा इंग्ल्याण्ड विजयी भएको थियो ।
– मुख्य प्रतियोगितामा इंग्ल्याण्ड र डेनमार्कबीच मात्र एक खेल गोलरहित बराबरीमा सकिएको छ । सन् १९९२ को यूरोको समूह चरणमा दुई टोलीले गोलरहित बराबरी खेलेका थिए । सो प्रतियोगितामा डेनमार्कले उपाधि उचालेको थियो ।
– दुई टोलीबीच वेम्बलेमा खेलिएका सबै खेलमा १–० को नतिजा आएको छ । जसमा इंग्ल्याण्डले पाँच र डेनमार्कले दुईमा जीत हासिल गरेको छ ।
खेल तथ्यांक
–इंग्ल्याण्डले सन् १९६६ को विश्वकपको सेमिपफाइनलमा पोर्चुगललाई हराएको थियो । त्यसयता चार सेमिफाइनलमा इंग्ल्याण्ड पराजित भएको छ (सन् १९९० र २०१८ को विश्वकप र सन् १९६८ र १९९६ को यूरोकप) । सन् २०१९ को नेसन्स लिगको सेमिफाइनलमा पनि नेदरल्याण्डसँग पराजित भएको थियो ।
– ह्यारी केनले मुख्य प्रतियोगितामा ९ गोल गरेका छन् । इंग्ल्याण्डका लागि ग्यारी लिंकरले बनाएको कीर्तिमानभन्दा मात्र एक गोलले टाढा छन् ।
– डेनमार्कले यो प्रतियोगितामा ११ गोल गरेको छ । यसअघि मुख्य प्रतियोगितामा डेनमार्कले सन् १९८६ को विश्वकपमा सर्वाधिक १० गोल गरेको थियो ।
– डेनमार्कका फरवार्ड मिकेल डाम्सगार्डले तीन गोल गर्नुका साथै ४ वटा गोलको अवसर सिर्जना गरेका छन् ।



