कानूनविपरीत काम गर्ने व्यक्तिको जीवन एउटै केसले पनि तहसनहस बनाइदिन्छ । उक्त व्यक्तिले आर्थिक र मानसिक दुवैथरी क्षति बेहोर्नुपर्ने हुन्छ ।
तर बलिउड अभिनेत्री शिल्पा शेट्टीका व्यापारी पति राज कुन्द्राको कुरा बेग्लै छ । अन्डरवर्ल्ड कनेक्सनको आरोपदेखि क्रिकेटमा सट्टेबाजीसम्म कैयौं केसमा फुेको भए पनि कुन्द्राले अदालतबाट स्टे लिएका छन् भने कुनै केसमा त प्रहरीले नै क्लीन चिट दिएको छ ।
कुन्द्रा एकपछि अर्को विवादमा जोडिँदै गए तैपनि बचिरहे ।
उनीसँग २९ सय करोड भारु बराबरको सम्पत्ति रहेको बताइन्छ । यति धनी मान्छेले पैसाको लोभमा पोर्न फिल्ममा हात हाले । यसमा पनि आफू भाग्यले नै बच्छु भन्ने उनलाई लागेको हुनुपर्छ ।
आपराधिक समूहका इकबाल मिर्चीको अवैध सम्पत्तिको केसमा इन्फोर्समेन्ट डिरेक्टोरेटले अनुसन्धान गर्दा राज कुन्द्राको पनि नाम आयो । सन् २०१९ मा ईडीले कुन्द्रासँग १० घन्टासम्म सोधपुछ गरेको थियो । तर त्यसमा उनले मिर्चीसँग जोडिएका रञ्जीत सिंह बिन्द्रासँग सम्पर्क राखेको भए पनि बिन्द्राको कसकससँग सम्बन्ध छ आफूलाई थाहा छैन भनी बचेका थिए ।
अर्को केस सन् २०१८ मा २००० करोड भारुको बिटकोइनको केस थियो । अमित भारद्वाज र विवेक भारद्वाजले भारतमा ८ हजारजनासँग पैसा लिएर बिटकोइन दिने वाचा गरेका थिए । अमितसँग प्रहरीले सोधपुछ गर्दा राज कुन्द्राको पनि नाम आएको थियो । तर प्रहरीले बलियो प्रमाण जुटाउन नसकेपछि उनलाई सफाइ दियो ।
अआईपीएलमा राज कुन्द्राले राजस्थान रोयल्स टीममा लगानी गरेका थिए । सन् २०१३ मा राजले टीमका अर्का मालिक उमेश गोयन्कामार्फत सट्टेबाजीमा सहभागी बनेको आरोप आयो ।
कुन्द्राले आफू बेटिङमा सहभागी बनेको तर म्याच फिक्सिङ चाहिँ नगरेको बताएका थिए ।
राजस्थान रोयल्सलाई दुई वर्षका लागि आईपीएलमा प्रतिबन्ध लगाइएको थियो । प्रहरीले कुन्द्राविरुद्ध प्रमाण जुटाउन सकेन र क्लीन चिट दियो ।
टेलीशपिङमा ठगी, गोल्ड कार्ड स्किममा ठगी, कारले मान्छेलाई ठोकेको केस लगायतका कैयौं मामिलामा राज कुन्द्राले सफाइ पाइसकेका छन् ।



