
काठमाडौं, १ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गोवामा भएको संयुक्त अनौपचारिक भेटलाई सुखद् संयोग भनेका छन् ।
ब्रिक्स सम्मेलनका क्रममा प्रचण्ड, मोदी र जिनपिङबीच डिनर लउञ्जमा अनौपचारिक कुराकानी भएको थियो । सम्मेलनमा सहभागी भएर सोमबार स्वदेश फर्किने क्रममा प्रधानमन्त्री प्रचण्डले यो भेटलाई सुखद् तथा दुर्लभ संयोगको रुपमा व्याख्या गरे ।
यद्यपी नेपालमा यसविषयमा भएको नकारात्मक टिप्पणीले आफ्नो मन दुखेको उनले सुनाए । केही सञ्चारमाध्यामले यसलाई बङ्ग्याएर प्रचार गरेको उनको गुनासो छ ।
मोदी आउनु अगावै आफूले सीसँग २० मिनेट कुरा गरेको भन्दै प्रचण्डले भने, ‘सीसँग भेट्ने मेरो चाहना थियो, ढुंगा खोज्दा देउता भेटियो भनेजस्तै संयोगवस भेट भई आपसी हित र चासोका विषयमा छलफल भयो ।’
२० मिनेट सीसँग दुईपक्षीय कुराकानी गरेपछि मोदी आएको उनले सुनाए । मोदी आएपछि आफूहरुबीच त्रिदेशीय हितबारे कुराकानी भएको उनको भनाई छ ।