काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहेको हो ।
नयाँ वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १ सय ६८ औं स्थानमै रहेको थियो ।
नेपालले हालै भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले पहिलो खेल भने एक एक गोलको बराबरीमा खेलेको थियो। दोस्रो मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २ एकले हराएको थियो। नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ। नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा इंग्ल्यान्ड, चौथोमा फ्रान्स र पाँचौ स्थानमा इटाली रहेका छन्।



