काठमाडौँ । एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसीप प्रतियोगितामा नेपाल पुलिस क्लबको पुरुष टोली क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार बिहान त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै समूह ‘बी’बाट विजेताको रूपमा अन्तिम आठमा प्रवेश गरेको हो ।
यता, पराजित गण्डकी प्रदेशसमेत समूह उपविजेताको रूपमा क्वाटरफाइनल प्रवेश गरेको छ । गण्डकीविरुद्ध पहिलो सेट नेपाल पुलिस क्लबले २५–१४ र दोस्रो सेट समेत २५–१४ आफ्नो पक्षमा पार्दा तेस्रो सेट २५–१८ ले पारेको थियो ।
समूह बी मा नेपाल पुलिसले शतप्रतिशत जित निकाल्दा तीन खेलबाट ९ अंक जोड्यो । गण्डकीको तीन खेलबाट ५ अंक रह्यो । यस समूहबाट मणिमुकुन्द भलिबल क्लब र दावाली मिलन क्लब समूह चरणबाटै बाहिरिए ।
यता, समूह सी बाट आर्मी क्लब विजेता रहँदा नयाँ बजार उपविजेता रह्यो । समूह डी बाट एपीएफ विजेता रहँदा ढोरपाटन उपविजेता रह्यो ।
नेपाल भलिबल संघ एनभिएको आयोजनामा जारी छैटौँ संस्करणको एनभिए च्याम्पियनसीप प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ आठ गरी २० टोली सहभागी छन् ।
च्याम्पियनसीपबाट चैतमा हुने एनभिए लिगमा पुरुषतर्फ ७ र महिलातर्फ पाँच टोली छनोट हुनेछन् ।



