अहिले युएईमा आइसिसी टी-२० विश्वकप प्रतियोगिता भइरहेको छ। आइतबार राति भएको खेलमा पाकिस्तानले चीर प्रतिद्वन्द्वी भारतलाई हराएको छ। भारतमाथि पाकिस्तानले १० विकेटको रवाफिलो जित हात पारेको हो।

यो जित पाकिस्तानका लागि नयाँ इतिहास हो किनकी विश्वकपमा पाकिस्तानले भारतलाई हराएको यो पहिलो पटक हो। यसअघि भारतविरूद्ध एकदिवसीय र टी-२० विश्वकपमा खेलेका सबै १२ खेलमा पाकिस्तान पराजित भएको थियो।

सन् १९९२ देखि विश्वकपमा खेलेका सबै खेलमा हार बेहोरेको पाकिस्तानले २९ वर्षपछि भारतमाथि जित हात पारेको हो।

भारत र पाकिस्तान दुबै क्रिकेट लोकप्रिय रहेका राष्ट्र हुन्। राजनीति रूपमा सम्बन्ध सुमधुर नरहेका दुबै देशका समर्थकलाई क्रिकेटमा एक अर्कालाई हराउनु पनि युद्ध जितेजस्तै लाग्छ।

आइतबार पाकिस्तानले भारतलाई हराएपछि भारतीय कप्तान विराट कोहलीले देखाएको व्यवहारले भने अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ।

आफ्नो टिमले हारेपछि भारतीय कप्तान कोहलीले पाकिस्तानी खेलाडीलाई भेट्छन्, बधाई दिन्छन् र अँगालो हाल्छन्। विराटले पाकिस्तानका ओपनर मोहमद रिजवानलाई अँगालो हालेको तस्बिरले धेरैको मन छोएको छ। इएसपिएनक्रिकइन्फोले उक्त तस्बिरलाई आफ्नो ट्वीटरमा नयाँ कभर पिक्चर बनाएको छ। कोहलीले पाकिस्तानका कप्तान तथा अर्का ओपनर बाबर आजामलाई पनि बधाई दिएका थिए।

आफ्नो टिमलाई जिताउन नसके पनि विराटले उत्कृष्ट खेल भावना देखाएको भन्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको प्रशंसासमेत गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर