टी२० क्रिकेट विश्वकपमा भारतले लगातार दुईवटा हार बेहोरेपछि सेमीफाइनलमा पुग्ने आशा झिनो बन्दै गएको छ ।
पहिला पाकिस्तान अनि हिजो न्युजील्यान्डसँग लज्जास्पद हार बेहोरेको भारतले आफ्नो प्रदर्शन भन्दा पनि अरूको हारजीतको आधारमा सेमीफाइनलमा स्थान बनाउने आशा गर्न सक्छ ।
विश्वकप शुरू हुनुअघि भारतलाई सम्भावित विजेताका रूपमा हेरिएको थियो । तर निकै खराब प्रदर्शन गरेकाले भारत प्रतियोगिताबाट छिटै बाहिरिने खतरा बढेको छ ।
पाकिस्तानसँग १० विकेटले हारेको एक सातापछि भारत न्युजील्यान्डसँग आठ विकेटले पराजित भयो । भारतले बेइज्जतीपूर्ण ११० रन मात्र बनायो । न्युजील्यान्डले १४।३ ओभरमै लक्ष्य हासिल गर्यो ।
दुई ठूला हारका कारण भारतको नेट रनरेट ध्वस्त भएको छ । त्यसैले ऊ सेमीफाइनलमा पुग्ने सम्भावना न्यून छ ।
पाकिस्तान सेमीफाइनलमा पुग्ने लगभग पक्का छ । उसले भारत, न्युजील्यान्ड र अफगानिस्तानलाई हराइसकेको छ भने स्कटल्यान्ड र नामिबिया जस्ता कमजोर टीमसँग खेल्न बाँकी छ ।
पाकिस्तानपछि सेमीफाइनल पुग्ने अर्को टीमको दौडमा न्युजील्यान्ड, अफगानिस्तान र भारत छन् ।
भारतले सेमीफाइनल पुग्नका लागि बाँकी तीनवटा सबै खेल जित्नुपर्छ, त्यो पनि निकै ठूलो मार्जिनका साथ । भारतको रनरेट माइनस १।६०९ छ जुन अत्यन्तै कम हो ।
भारतले बुधवार अफगानिस्तानलाई ठूलो अन्तरले जित्ने आशा गरेको हुनुपर्छ । अनि अफगानिस्तानले न्युजस्ल्यान्डलाई हराओस् भनी कामना पनि गर्नुपर्छ ।
तर भारत र अफगासनस्तानको समान अंक भएमा नेट रन रेटका आधारमा अफगानिस्तान भारतभन्दा माथि रहन सक्छ ।
न्युजील्यान्ड नामिबिया वा स्कटल्यान्डसँग हारेमा चाहिँ भारतले न्युजील्यान्डको नेट रन रेटलाई उछिन्न सक्छ । तर यसको सम्भावना एकदमै न्यून देखिन्छ ।



