काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र एटलान्टाले बराबरी खेलेका छन् ।
क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युनाइटेड एटलान्टासँग हारबाट जोगिएको हो । जोसिप इलिचीले १२ औँ मिनेटमा गोल गरी एटलान्टालाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको अतिरिक्त समयमा रोनाल्डोले गोल गरी बराबरी गरेका थिए । त्यस्तै ५६ औँ मिनेटमा डेनियल जापटाले गोल गरेपछि एटलान्टाले २–१ को अग्रता बनायो । तर दोस्रो हाफको अतिरिक्त समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि म्यानचेस्टर युनाइटेड हारबाट जोगिएको हो ।
बराबरीपछि समूह एफमा ७ अङ्कका साथ युनाइटेड शीर्ष स्थानमा छ । त्यस्तै च्याम्पियन्स लिगमा युभेन्टस् विजयी भएको छ । गएराति भएको खेलमा जेनिटलाई ४–२ ले हराउँदै समूह ‘ई’ मा युभेन्टस् १२ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ ।
इङ्ग्लिस क्लब चेल्सीले तेस्रो जितका साथ ९ अङ्क जोडेर दोस्रो स्थानमा छ । चेल्सीले माल्मोलाई १–० गोलले हरायो ।



