नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा शानदार जीत दर्ता गरेको छ । कतारसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपाली महिला टोली ११९ रनको फराकिलो अन्तरले विजयी बनेको हो । उसो त नेपाली टोलीको यो ऐतिहासिक खेल हो । अर्थात् नेपाली टोलीको यो पहिलो अन्तर्राष्ट्रिय शृङ्खला हो ।
पहिले ब्याटिङ गरेको नेपाली टोलीले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा कतारी टिम २७ रनमै अलआउट हुन पुग्यो । खेलमा रुबिना क्षेत्रीले ३ तथा कविता कुँवर, सीता राना मगरले २–२ विकेट लिए भने करुणा भण्डारीले पनि एक विकेट लिइन् । खेलमा कतारका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
यता ब्याटिङतर्फ नेपालले इन्दु बर्माले ५५ रनको योगदान दिइन् । उनले ५ चौकासहित ५५ रन बनाएकी हुन् । यस्तै सीता राना मगरले ३९, सरिता मगरले २१ रन बनाउँदा कविता कुँवरले ८ तथा काजल श्रेष्ठले ३ रनको योगदान दिइन् । यस्तै नेपालले अतिरिक्त २० रन जोडेको थियो ।



