चामानी सेनेभिरातनको अर्धशतकको सहयोगमा यूएईले नेपाललाई १२८ रनको लक्ष्य दिएको छ ।
आईसीसी महिला ट्वान्टी–२० क्रिकेट विश्वकपको एसियाली छनोट प्रतियोगिताको निर्णायक खेलमा यूएईले २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रन बनायो ।
आइतबार दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईका लागि चामनीले ३६ बलमा सात चौकासहित ५२ रनको अर्धशतकीय पारी खेलिन् । त्यस्तै, थेर्था शतिसाले ४७ रनको योगदान गरिन् । ४६ बल खेलेकी ओपनर शतिसाले तीन चौकासमेत प्रहार गरिन् । काभिषा इगोडागेले २२ रन जोडिन् ।
बलिङतर्फ नेपालका लागि कविता कुँवरले चार ओभर बलिङ गर्दै २१ रन खर्चेर दुई विकेट लिइन् । त्यस्तै, सबनम राई, सीता रानामगर र संगीता राईले समान एक/एक विकेट लिए ।
आजको खेल ठूलो अन्तरले जितेमा नेपालले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ । ६ टोली सहभागी प्रतियोगितामा शीर्ष एक टोलीले मात्र ग्लोबल क्वालिफायरमा स्थान पक्का गर्नेछ ।
चार खेलमा शतप्रतिशत नतिजा निकालेको यूएई आठ अंकका साथ शीर्ष स्थानमा छ । एक खेलमा पराजित नेपाल र हङकङ समान ६ अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । आज शीर्ष दुई टोली यूएई र नेपालले प्रतिस्पर्धा गर्दा हङकङले सबैभन्दा कमजोर टोली कुवेतविरुद्ध खेल्नेछ ।
यूएईले जिते सिधै ग्लोबल क्वालिफायरमा स्थान पक्का गर्नेछ । तर, यूएईलाई नेपालले पराजित गरेको खण्डमा हङकङको सम्भावना पनि उत्तिकै हुन्छ । हङकङले कुवेतलाई पराजित गरेमा तीन टोलीको समान आठ अंक हुन्छ ।
त्यसैले नेपाललाई आज जितेर मात्र हुँदैन । राम्रो रनरेटमा जित्नु आवश्यक छ । अनि मात्र पहिलोपटक ग्लोबल क्वालिफायर खेल्ने नेपाली महिला टोलीको सपना पूरा हुन्छ । नभए यसपटक पनि पहिलो एसियाली छनोटबाटै बाहिरिनेछ ।



