न्युजिल्यान्ड विरुद्धको दोस्रो टेस्टमा घरेलु टोली भारतले ३७२ रनको फराकिलो जित हात पारेको छ । ५४२ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले ५६.३ ओभरमा अल आउट हुँदै १६७ रन मात्र बनाउन सक्यो न्युजिल्यान्डका लागि डेरिल मिचेलले अर्धशतकीय पारी खेल । ९२ बलको सामना गरेका उनले ७ चौका र २ छक्काको मद्दतमा ६० रन बनाए । हेनरी निकोलसले ४४, विल योङ्गले २० र रचिन रविन्द्र १८ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।भारतका लागि रविचन्द्रन आश्विन र जयन्त यादवले ४-४ र अक्षर पटेलले १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो । भारतले ७० ओभर ब्याटिङ गर्दै ७ गुमाएर २७६ रन बनार दोस्रो पारी समाप्तीको घोषणा गरेपछि न्युजिल्यान्डले विशाल लक्ष्य प्राप्त गरेको थियो ।
भारतका मायन्क अग्रवालले ६२ रनको योगदान दिए । उनले १०८ बलको समाना गर्दै ९ चौका र १ छक्का प्रहार गरे ।
चेतेश्वर पुजार र शुभ्मन गिलले ४७-४७ रनको योगदान दिँदा अक्षर पटेल ४१ रनमा अविजित रहे।न्युजिल्यान्डका लागि अजाज पटेलले ४ र रचिन रविन्द्रले ३ विकेट हात पारे ।
यसअघि मुम्बईस्थित वान्खडे स्टेडियममा टस जितेर ब्याटिङ रोजेको भारतले पहिलो पारीमा १०९.५ ओभर ब्याटिङ गर्दै सबै विकेट गुमाउँदै ३२५ रन बनाएको थियो ।
भारतका लागि मायन्क अग्रवालले १५० रनको उत्कृष्ट पारी खेले । ३११ बलको सामना गरेका उनले १७ चौका र ४ छक्का प्रहार गरे ।
५२ रनको पारी खेलेका अक्षर पटेलले १२८ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गरे । सुभ्मन गिलले ४४ रन जोडे ।
न्युजिल्यान्डका लागि अजाज पटेल एक्लैले १० विकेट हात पारेका थिए । पहिलो पारीमा निकै खराब ब्याटिङ गरेको न्युजिल्यान्ड २८.१ ओभरमा मात्र ६२ रनमा समेटिएको थियो । न्युजिल्यान्डका लागि काइले जेमिसनले सर्वाधिक १७ र कप्तान टोम लाथमले १० रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । न्युजिल्यान्डलाई सस्तैमा समेट्न रविचन्द्रन आश्विनले ४,मोहम्मद सिराजले ३, अक्षर पटेलले २ तथा जयन्त यादवले १ विकेट हात पारे । पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।



