नेपाल क्रिकेट संघ (क्यान) कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि कारवाही गर्ने मुडमा देखिएको छ । ‘सेन्ट्रल कन्ट्रयाक्ट’का लागि क्यानले गरेको खेलाडी बर्गिकरणमा असन्तुष्टि जनाउँदै कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीले सार्वजनिक रुपमा वक्तव्यबाजी गरेकोभन्दै संघले स्पष्टीकरण सोधेको थियो ।
कप्तान ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले क्यानकै गल्ती देखाउँदै पहिलोपटक स्पष्टीकरण बुझाएका थिए । क्यानले उक्त स्पष्टीकरण चित्त नबुझेको भन्दै दोस्रोपटक स्पष्टीकरण सोधेको थियो । दोस्रोे स्पष्टिकरणमा पनि क्यानले चित्त बुझाउने अवस्था नरहेको एक शीर्ष पदाधिकारीले बताए ।“खेलाडीहरुले दोस्रोपटक पठाएको स्पष्टीकरण पनि उस्तै छ । अब हामी तेस्रो पटक स्पष्टीकरण सोध्ने छैनौं । क्यानको आन्तरिक छलफल गरेर क्यानको अधिकार प्रयोग गर्नेछौं,” क्यानका शीर्ष पदाधिकारीले भने ।
यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलपछि पुरस्कार वितरण समारोहमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले चार खेलाडीलाई इङ्गीत गर्दै खेलाडीहरुले क्यानलाई बदनाम गर्ने कार्य गरिरहेको बताएका थिए । चन्दले भनेको थिए, “सन्यास लिएका र हाल टोलीमा रहेका खेलाडी नै क्यानको बदनाम गर्न लागि परेका छन् । चार वर्षपछि निलम्बनबाट फुकुवा भएको क्यानलाई अब बदनाम गर्न सहज छैन । त्यस्ता अनुशासनको दायराबाहिर भएका खेलाडीलाई क्यानले कारवाही गर्नेछ ।”आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा चन्दले उमेर समूहका खेलाडीलाई पनि अनुशासनलाई मुख्य प्रथामिकतामा राख्न निर्देशन दिए । यसअघि क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले चार खेलाडीलाई दोस्रोपटक मागिएको स्पष्टीकरण चित्तबुझ्दो नआए क्यानले आफ्नो अधिकार प्रयोग गर्ने बताएका थिए । उनले त्यतिबेला भनेका थिए, “खेलाडीहरूले गल्ती गरेका छन् । तर, पनि गल्तीको महसुस नगर्नु दुःखद पक्ष हो । दोस्रोपटकको स्पष्टीकरण पनि चित्त बुझेन भने हामी कडा कदम चाल्न बाध्य हुनेछौँ ।”
‘सेन्ट्रल कन्ट्रयाक्ट’का लागि क्यानले गरेको वर्गिकरणमा असन्तुष्टि जनाउँदै खेलाडीले हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । त्यसपछि क्यान र खेलाडीबीच मतभेद बढेको थियो । चार खेलाडीलाई स्पष्टीकरण सोधेपछि राष्ट्रिय टोलीमा रहेका खेलाडीहरूले क्यानलाई १९ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।क्यान पदाधिकारीले खेलाडीको उक्त ज्ञापनपत्रलाई स्पष्टीकरणको ‘काउन्टर’का रूपमा बुझेका छन् । यद्यपि, उक्त ज्ञापनपत्रका विषयमा खेलाडी र क्यान पदाधिकारीबीच एक चरण छलफल भइसकेको छ ।



