नेपालगञ्ज – नेपालगञ्जमा बिहीबारदेखि खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बाँकेको जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाली सेनाको भैरवप्रसाद गण र कर्मचारी मिलन केन्द्र, बाँकेको सह–आयोजनामा नेपालगञ्ज रंगशालाको कभर्डहलमा बाँके जिल्ला खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको नेपाली सेनाको श्री ४ नम्बर अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले उद्घाटन गर्दै यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कोरोनाले गर्दा सुस्त भएका खेलकुद गतिविधिहरु सञ्चालन हुन थालेको बताए ।
बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सञ्जय थापाले अहिलेसम्म बाँकेले १३ जना राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको बताउँदै आगामी दिनमा पनि यसलाई थप प्रभावकारी बनाउँदै लैजाने बताए।
मंसिर २५ गतेसम्म सञ्चालन हुने प्रतियोतिामा ६ वटा विधामा प्रतिस्पर्धा भइरहेको छ । एकल स्पर्धातर्फ महिला र पुरुष, पुरुष युगल, भेट्रान्स युगल र यु–१९ उमेर समूहअन्तर्गत पुरुष एकल र महिला एकलमा प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगितामा एक सय ४७ जना खेलाडीले भाग लिएका छन् ।



