एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको शो नेपाल आईडल अहिले निकै चर्चामा रहेको छ । नेपालभरिकै प्रतिस्पर्धीहरुबाट उत्कृष्ट १० प्रतिस्पर्धीहरु मैदानमा रहेका छन् । सबै प्रतिस्पर्धीहरु अहिले आफुलाई ‘भोटिङ’ का लागि हारगुहार गरिरहेका छन् ।
नेपाल आइडलको अडिशन राउन्डमै जर्जहरुलाई समेत प्रभाव पार्न सफल एक प्रतिस्पर्धीको नाम हो निशान भट्टराई, जसको ‘भोटिङ’ प्रचारका लागि उनका बुवाले घरको लैनो गाई समेत विक्री गरेका छन् । छोरालाई नेपाल आइडल बनाउन दुई साता अघि मात्रै ब्याएको लैनो गाई ६० हजारमा विक्री गरेर निशानका बुवा नित्यानन्दले छोराको प्रचारमा जुटेका छन् ।
निकै राम्रो प्रस्तुती दिइरहेका निशान अहिले प्रतियोगिताको उत्कृष्ट १० मा छनोट भएका छन् । उत्कृष्ट १० मा छनोट हुँदा उनी डेन्जर राउन्डमा समेत परेका थिए ।
निशान सानै उमेरदेखि गीतसंगीतप्रति निकै मेहनती भएको निशानका संगीत शिक्षक विशाल राईले जानकारी दिएका छन् ।
निशानलाई जिताउन उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष चन्ऽबहादुर भट्टराईको संयोजकत्वमा १५ सदस्यीय ‘निशान जिताउ अभियान’ समिति समेत गठन भएको छ ।



