सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार हुने खेलमा थ्रीस्टार क्लबले सशस्त्र प्रहरी बल-एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्दैछ। दशरथ रंगशालामा अपरान्ह पौने ५ बजे सुरु हुने खेलमा थ्रीस्टार जीत हात पार्दै शीर्षस्थानको होडमा रहने प्रयास गर्नेछ।
३ खेलबाट ४ अंक भएको थ्रीस्टार अंक तालिकाको आठौँ स्थानमा रहेको छ। प्रतियोगितामा उसले एक जीत, एक बराबरी र एक हारको नतिजा निकालेको छ। शीर्षस्थानमा रहेको मच्छिन्द्र क्लबको ४ खेलबाट १० अंक छ। दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दीको पनि ४ खेलबाट १० अंक नै रहेको छ। ४ खेलबाट ८ अंक भएको त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा रहेको छ।
पहिलो खेलमा जीत हात पारेको थ्रीस्टारले दोस्रो खेलमा सातदोबाटो युथ क्लबसँग हार व्यहोरेको थियो भने तेस्रो खेलमा फ्रेन्ड्स क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको थियो।
यता एपीएफले भने प्रतियोगितामा तीन खेल खेले पनि एक अंक पनि जोड्न सकेको छैन। एपीएफले सबै तीन खेल हारेको हो।



