काठमाडौँ — पुसमा प्रदर्शनमा आउने भनिएको फिल्म ‘चपली हाइट ३’ पुस १५ लाई सारिएको छ । एउटै मितिमा तीन विदेशी फिल्मसँग भिडन्त गर्नुपरेपछि निर्माता अर्जुन कुमारले फिल्मलाई अर्को मितिमा सारेका हुन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा’, ‘स्पाइडरम्यान नो वे होम’, ‘घोस्टबुस्टर्स’सँग एउटै मितिमा नेपाली फिल्म प्रदर्शन गर्नुपरेपछि निर्माता कुमार पछाडि हटेका हुन् ।
यसअघि उनले ‘पुष्पा’को विरोध गर्दै आएका थिए । कतिले विदेशी फिल्मसँग भिड्नुपरेपछि कुमारले रुवावासी गरेको टिप्पणीसमेत गरेका छन् । ‘रुवावासी गर्नै पर्ने अवस्था भयो । यस्तो सुमो फिल्मसँग भिडाउन खोजियो भने म कहाँ सक्छु त । हामी नेपालीले जतिसुकै गफ लगाए पनि विदेशी फिल्मलाई जित्न सक्दैनौं । त्यही भएर रुवावासी गरेको देखिएको हो,’ उनी भन्छन्, ‘मलाई मेरो कन्टेनमाथि विश्वास छ । तर एकल प्रदर्शन गर्नु र तीनवटा फिल्मसँग भिड्नुमा धेरै फरक पर्छ । आम्दानीमै फरक पर्छ । हलमा पाउने सोमै फरक पर्छ । हामीले फिल्म प्रदर्शनको घोषणा गर्दा ‘स्पाइडरम्यान नो वे होम’ भन्ने फिल्म पनि २४ तारिखमा आउने तय थियो । तर त्यो १७ तारिखमा सर्यो । हुँदाहुँदा त्यो फिल्म पनि हामीसँगै भिड्न आयो । त्यसमाथि हिन्दी फिल्म पनि यही मितिमा आउने भयो । प्रदर्शक र वितरकले नेपाली फिल्मलाई हेप्ने गर्छ । नेपाली फिल्मलाई सो कम दिने, चेपुवामा पार्ने काम गर्छ । त्यो काम नहोस् भनेर मैले आवाज उठाएँ । मैले यस्तो विशम परिस्थितिमा फिल्म लगाउने आँट गर्दा हिन्दी डब फिल्म ल्याएर मलाई चेपुवामा पार्ने कोसिस गरियो ।’
‘पुष्पा’का नेपाल वितरकसँग उनले आफ्नो फिल्मलाई एकल प्रदर्शन गर्न दिन अनुरोधसमेत गरेका थिए । सोचेजस्तो सो नपाउने भए फिल्म नै नलगाउने अडान लिएका थिए । अक्षय कुमारको फिल्म ‘सुर्यवंशी’ले हलमा दर्शक फर्काइदिएपछि निर्माता कुमारले फिल्मको प्रदर्शन मिति तोकेका थिए । त्यसपछि अन्य फिल्ममेकरले कोभिड महामारीका कारण प्रदर्शन रोकिएको फिल्मको प्रदर्शन तोक्न थाले । प्रदर्शनको अन्तिम चरण भने निर्माता कुमारले फिल्मलाई पछाडि सारेका छन् ।
यसरी फिल्मको प्रदर्शन फेरबदल गर्दा तपाईंलाई आफ्नो फिल्ममाथि नै विश्वास नभएको देखियो ?
‘मलाई मेरो फिल्ममा कतै अविश्वास छैन । महामारीको यस्तो दौरानमा मैले फिल्म प्रदर्शन गर्ने आँट गरेको छु । २ करोडमा बनाएको फिल्म । मैले यसरी आँट गरेको बेलामा एकल (सोलो) रिलिज गर्न देउ न भनेर हिन्दी फिल्मलाई नेपालमा ल्याउने वितरकसँग अनुरोध गरें । तर उनीहरुले सुनेनन्,’उनले जवाफमा भने,’म एक्लैले कराएर पनि हुँदैन । मैले हिन्दी र अंग्रेजी फिल्मको विरोध गरेको छैन । तर डबिङ गरिएको फिल्म त नल्याउँ, नजुधाउँ भन्न खोजेको हो । नेपाली फिल्म क्षेत्रको स्थिति दयनीय छ ।’
निर्माता कुमार नेपाली कलाकारका नाममा फिल्म चलाउने दमसमेत नभएको दाबी गर्छन् । ‘नेपाली फिल्ममा फलानो कलाकार छ भनेर फिल्म चल्छ भन्ने दम नै छैन,’ उनले भने ।



