स्वास्थ्य

कान जति कन्यायो उति चिलाउँछ : कारण के ? के समस्या ल्याउँछ ?


  दमक   सवाल नेपाल   २०७९ मंसिर १४, बुधबार १६:०६

कल्पना गरौं त, ठप्प कान सुन्न छाडियो भने के होला ? निःसन्देह, इशाराले बातचित गर्नुपर्ने हुन्छ । यस्तो स्थितिमा व्यावहारिक कामकाज सम्पन्न गर्न असहज हुनसक्छ । र, यस्तो समस्या जुनसुकै बेला तपाईं-हामीले झेल्नुपर्ने हुनसक्छ ।

किनभने कान निकै संवेदनशील अंग हो, जसले कुनै पनि बेला श्रवण क्षमता गुमाउन सक्छ । चाहे त्यो चर्को आवाजको कारण होस् वा संक्रमणको कारण, चोटपटकको कारण होस् वा हाम्रो सानो लापरवाहीको कारण ।

यद्यपि हामीलाई कानको सम्भावित जटिलताबारे खासै हेक्का हुँदैन । खासमा कानले कसरी कुनै पनि ध्वनि सुन्छ । त्यसका लागि कानभित्र कस्तो संयन्त्रले काम गरेको हुन्छ ? के कारणले कान खराब हुनसक्छ ? कानको श्रवण शक्ति कसरी कायम राख्न सकिएला ? यिनै विषयमा वीर अस्पतालका नाक, कान तथा घाँटीरोग विभागका पूर्वप्रमुख प्रा. डा. दीपेन्द्र श्रेष्ठसँग गरिएको कुराकानी :

कानको संरचना कस्तो हुन्छ ? कुनै पनि आवाज हामीले कसरी सुन्ने गर्छौं ?

सामान्यतया कान हामी जुन बाहिरी भागमा देख्छौं त्यसलाई मात्र भन्ने बुझ्छौं । कानमा बाहिरी, मध्य र भित्री गरी तीनवटा भाग हुन्छ ।

बाहिरी भाग भनेको हामीले जुन देख्छौं त्यो हो । मध्यममा कानको जाली पर्छ । बाहिर भाग भनेको हामीले जुन देख्छौं त्यो हो । मध्यममा कानको जाली पर्छ । कानको जालीभित्र सानो एउटा सानो कोठा हुन्छ, त्यसलाई मिडल एयर क्याबिटी भनिन्छ । क्याबिटीभित्र सानो तीनवटा हड्डी हुन्छ । त्यो हड्डीले बाहिरबाट कानको भित्रीभागसम्म आवाज प्रसार गर्ने काम गर्छ । मध्यभागको बीचमा इनर एयर हुन्छ । भित्री भाग बोर्नबाट बनेको कडा शंख जस्तो हुन्छ त्यसलाई कोक्लिया भनिन्छ। कोक्लियाले भित्री कान र दिमागसँग कनेक्सन गर्ने कम गर्छ।

बाहिरबाट आएको आवाज कानको मध्यभाग र बाहिरी भाग थर्किनुपर्छ । आवाज कानको प्वालमा ठोक्किएपछि कानको जालीलाई, चलायमान गराउँछ र हड्डी एकै साथ चल्छ । तीनवटा हड्डी हुँदै आवाज भित्री भागमा प्रवेश हुन्छ । त्यहाँ गुन्जिएको आवाज र सन्तुलनसम्बन्धी काम हुन्छ र त्यस तरंगको रुपमा नसाहरुले मस्तिष्कसम्म पुर्‍याउँछ र प्रतिउत्तरको लागि वातावरण तयार हुन्छ ।

देब्रे र दाहिने दुवै कानले बराबर सुन्छ ?

सुन्ने तरिका र क्षमता एकै हो । एउटा कानले बढी र अर्को कानले कम सुन्ने भन्ने सामान्य व्यक्तिमा हुँदैन ।

कानले कति टाढासम्मको आवाज सुन्न सक्छ ?

कानको सुन्ने आवाजको एउटा रेन्ज हुन्छ । यति नै टाढा भनेर भन्न सकिंदैन । तर टाढा छ तर ठूलो ध्वनि छ भने सुन्न सकिन्छ । नजिक छ तर ध्वनि कम छ भने त्यो आवाज सुन्न सक्दैन । ध्वनि सुन्ने कुरा दुरीले मात्र हैन, त्यसको सुन्ने क्षमता कति छ त्यसमा पनि भर पर्छ ।

कानको जाली आवाजकै कारण फुट्ने भन्ने कुरामा कुनै सत्यता छैन । आवाजले भन्दा पनि धेरै चर्को आवाजले कानको जालीलाई असर भने पुर्‍याउँछ । संक्रमण र चोटपटकले गर्दा कानको जाली फुट्न सक्छ ।
चर्को आवाज, गाडीको हर्न, माइकको ध्वनि आदिले कानको श्रवण शक्तिमा कुनै असर गर्छ ?

आवाज र हल्लामा हल्लाले स्वास्थ्यमा असर पुर्‍याउँछ । आवाज मात्रले हाम्रो कानमा क्षति गर्दैन । लामो समयसम्म ध्वनिको तीव्रता ८० डेसिबलसम्म सुनिरहेको छ भने सुन्ने प्रणालीमा समस्या आउन सक्छ । ८० डेसिबलभन्दा कम भएमा यसले कानलाई खासै असर गर्दैन ।

अचानक धेरै उच्च चर्को स्वर आउँछ । जसको १२०/३० डेसिबल वा सोभन्दा बढी ध्वनिको तीव्रता भएमा केही क्षणमै सधैंको लागि सुन्ने क्षमता ड्यामेज हुन पनि सक्छ । धेरै कुराले सुन्ने क्षमतामा असर पार्न सक्छ । हाम्रो बोलीमा ध्वनिको तीव्रता ५०-६० डी.बी., सहरी ध्वनि तीव्रता ८० डी.बी., हवाइजहाज र हेलिकप्टरको नजिकको ध्वनि तीव्रता १०५ डी.बी., सांगीतिक कन्सर्ट, बन्दुकको आवाजहरुको ध्वनि तीव्रता ११०-१३० डी.बी. सम्म हुन्छ ।

एकदमै चर्को आवाज सुन्दा कानको जाली फाट्न सक्छ भनिन्छ नि, यो सत्य हो ?

कानको जाली आवाजकै कारण फुट्ने भन्ने कुरामा कुनै सत्यता छैन । आवाजले भन्दा पनि धेरै चर्को आवाजले कानको जालीलाई असर भने पुर्‍याउँछ । संक्रमण र चोटपटकले गर्दा कानको जाली फुट्न सक्छ ।

कानको जाली कस्तो स्थितिमा हुन्छ, यसको खास भूमिका के हो ?

बाहिरको आवाजको प्रसार गर्ने काम जालीको हुन्छ । कानको बाहिरको प्वालमा नली हुन्छ चार सेमीको । नलीको बाहिरी र मध्यमभागको बीचमा कानको जाली हुन्छ । बाहिर हावाको माध्यमबाट आएको आवाजलाई तीनवटा साना हड्डीले भित्री साँघुरो गल्लीमा लिएर जालीले ग्रहण गर्छ । त्यो आवाजको तीव्रता बढाएर जालीको भित्रीकान हुँदै नसाले दिमागसम्म आवाज पुग्छ ।

कानको जाली कस्तो अवस्थामा खराब हुनसक्छ ?

कुनै पनि किसिमको चोटपटकले कानको जाली खराब हुन सक्छ । कसैले झगडा गर्दा हातले हिर्काउँदा, कान बढी कोट्याउँदा, लड्दा, दुर्घटना हुँदा, समुद्रमा ड्राइभिङ गर्दा पनि बढ्दो चापले कानको जाली फुट्न सक्छ ।

कान संवेदनशील अंग हो । कानको रोग पनि ठूलो स्वास्थ्य समस्या हो भनेर लिनुपर्छ । यसबारे ससचेत हुन जरुरी छ । संक्रमण हुन नदिने र भएमा बेवास्ता नगर्ने, उच्च ध्वनि हुने ठाउँमा बस्नु भएन । हेडफोनमा लामो समयसम्म ठूलो स्वरमा संगीत सुन्नु भएन ।
यदि कानको जाली फाट्यो भने के कस्ता जटिलता आउन सक्छ ?

साधारण जाली फुट्यो, ठूलो क्षति भएको छैन भने केही समयपछि प्राकृतिक रुपमा आफैं ठिक हुन्छ । औषधि प्रयोग नगरी कानको जालीमा नचलाउने, नुहाउँदा कपास राखेर पानी छिर्न नदिने गरी ध्यान दियो भने पनि आफैं टालिन्छ ।

तर यदि लामो समयसम्म ठीक भएन र कानको कार्यमा परिवर्तन भयो भने त्यसलाई शल्यक्रिया गरेर नयाँ जाली बनाउनुपर्छ ।

थप्पडले वा कुनै बाहिरी घाउ, चोटले पनि कानको जालीमा असर गर्न सक्छ ?

थप्पडले कानको जाली फुटेर धेरै बिरामीहरु आउनु भएको छ । शिक्षकले विद्यार्थीलाई कुटपिट गरेर, युवाबीच कुटाकुट, श्रीमान-श्रीमतीमा झगडाले पनि कानको जाली फुट्न सक्छ । हात हालाहाल हुँदा हातले बाहिरी कानमा लाग्यो भने जाली फुट्न सक्छ । कानको जाली फुटेमा कानबाट रगत बग्ने, कान बन्द हुने कान कम सुन्ने, कान कराउने जस्ता समस्या देखिन सक्छ ।

कानको जालीलाई बचाइराख्ने उपाय के हो ?

कानको जाली बचाइराख्न गर्नुपर्ने उपाय भनेको कानको संक्रमण हुन नदिने चोटपटक लाग्न नदिनु हो । कानमा हुने कानेगुजीले कानको लागि सुरक्षा दिन्छ । यसले संक्रमण र चोटपटक हुनबाट बचाउँछ । पहिलादेखि नै कान चिलाउँदा कोट्याउने, कान सफा गर्ने बानी छ त्यसले कानलाई असर गर्न सक्छ ।

बढी कानलाई दखल दिंदा जाली फुट्न सक्छ । कान चिलाउने भनेको सफा गर्नेको र जसले बढी कोट्याउँछ उसकै बढी चिलाउँछ । कान चिलायो भने हातको औंलाले कानको बाहिरबाट नै हल्लाउन मिल्छ ।

कहिलेकाहीं कान धेरै सफा गर्ने व्यक्तिको कानमा ढुसी पलाउँछ । ढुसी पलाएर पनि अत्याधिक चिलाउँछ । त्यसले गर्दा कानबाट फोहोर आइरहेको छ । अत्यधिक चिलाइरहेको छ भने त्यसको लागि एन्टी फंगस औषधि हाल्नुपर्छ । त्यसको लागि चिकित्सकको सल्लाह लिनुपर्छ ।

कानमा के कस्ता रोग लाग्ने जोखिम हुन्छ ?

कानमा विभिन्न किसिमको रोग हुन्छ । रुघा लाग्दा, घाँटीमा संक्रमण हुँदा कानको जाली सुन्निने र सानो प्वाल पर्न सक्छ । कानबाट पिप आउन सक्छ । कानको जालीमा प्वाल परेर पिप आउने, कान पाक्ने, नसुन्ने हुनसक्छ । चोटपटक लाग्दा धेरै चलाउँदा पनि कानको जाली फुट्ने, कान सुन्ने क्षमता कम हुने, कानमा विभिन्न आवाज आएको जस्तो हुने, कानले सुन्ने मात्र नभई शरीरलाई नियन्त्रण राख्ने पनि काम गर्छ । नियन्त्रण गर्ने क्षमतामा कमी आउँदा चक्कर लाग्छ । कानको सम्पर्क दिमागसँग भएको र नजिकै भएकाले कानमा संक्रमण हुँदा छिट्टै उपचार गराउनुपर्छ । कानको संक्रमण ब्रेनमा पुगेमा समस्या जटिल बनेर मृत्यु समेत हुनसक्छ । अर्को जटिलता भनेको बहिरोपन, कानमा ट्युमर, क्यान्सर पनि हुन सक्छ ।

श्रवणशक्ति राम्रो बनाइराख्न के गर्नुपर्छ ?

श्रवणशक्ति राम्रो बनाइराख्न कुनै पनि कानको समस्या देखिए कहिलेकाहीं भइहाल्छ भनेर चुप लागेर बस्न हुँदैन । यसले कानको क्षति निम्त्याउँछ । सहरबजारमा बढी ध्वनि प्रदूषण हुन्छ । बेलाबखतमा हुने कन्सर्ट र रेस्टुरेन्टमा हुने लाइभ म्युजिकको आवाज लामो समयसम्म सुन्दा, हेडसेटमा चर्को आवाज सुन्नु, लामो समयसम्म म्युजिक ठूलो पारेर सुन्ने र ठूलो ठूलो आवाज आउने ठाउँमा काम गर्नु कानको लागि हानिकारक हुन्छ । यसले सुन्ने क्षमतामा कम गराउँछ । यस्तो वातावरणमा बस्ने व्यक्तिले वर्षमा एकपटक श्रवणशक्तिको परीक्षण गराउनुपर्छ । त्यो बाहेक कान चलाउने र कोट्याउने गर्न हुँदैन ।

अहिले ध्वनि प्रदूषण व्यापक छ, यसले मान्छेको श्रवण क्षमतामा कति असर गरेको छ ?

विकसित देशमा बहिरोपनको प्रमुख कारण ध्वनि प्रदूषण मानिन्छ । तर नेपालमा ठोस अध्ययन त भएको छैन, सानोतिनो अध्ययनले भने ध्वनि प्रदूषण अत्यधिक छ । यो बहिरोपनको कारण हुनसक्ने देखाएको छ । यसबाहेक लामो समयसम्म मोबाइलमा चर्को आवाजमा गीत सुन्नु, गीत-संगीत सुन्दा चर्को आवाजमा रमाउँछौं भने विस्तारै विस्तारै कान सुन्ने क्षमता कम हुँदै गएको हुन्छ ।

श्रवणशक्तिमा के कारणले कमी आउनसक्छ ?

वंशाणुगत कारणले जन्मेदेखि नै कान सुन्ने वा सुन्दै नसुन्ने हुनसक्छ । त्यस्ता बालबालिका ढिला बोल्ने हुनसक्छन् । उसको शारीरिक तथा मानसिक वृद्धि विकासमा पनि असर गरिरहेको हुन्छ । कानको जालीमा प्वाल, संक्रमण, कानको हड्डीभित्र जाम हुँदा, कानको सुन्ने नसा विभिन्न कारणले समस्या, हामीले प्रयोग गर्ने केही औषधिले पनि कान सुन्ने क्षमता कम गर्छ ।

श्रवणशक्ति बिग्रिन नदिन वा बढाउन खानपान र जीवनशैली कति जिम्मेवार हुन्छ ?

श्रवणशक्ति बढाउन वा कायम राख्नमा हाम्रो खानपान, जीवनशैली जिम्मेवार हुन्छ । कानको सुन्ने क्षमता कायम राख्न कानको सुरक्षामा ध्यान दिनुपर्छ ।

कान सुन्न छाड्दै गएपछि वा श्रवण शक्ति कमजोर भएपछि के उपचार गर्नुपर्छ ?

प्रविधिले फड्को मारेको युगमा कानको उपचारमा पनि नयाँ-नयाँ प्रविधि आइरहेका छन्, जसले जटिल उपचार पनि सम्भव भएको छ । सकेसम्म कानमा समस्या आउन नदिनु राम्रो हो ।

यसबारे सचेत हुनु राम्रो हो । भइहालेमा कस्तो खालको बहिरोपन हो भनेर हेर्न पर्छ । नसामा समस्या आउँदा वा बहिरोपन हुँदा अप्रेसनको मद्दतले समाधान गर्न सकिन्छ । कानको जाली फुट्दा टाल्न सकिन्छ वा टाल्न सम्भव नभएमा नयाँ जाली बनाउन सकिन्छ ।

हड्डी खुस्केको छ भने त्यो मिलाउन सकिन्छ । कानको नसा नै बिग्रिएको छ भने कानमा लगाउने मेसिन लगाएर पनि सुन्न सकिन्छ । मेसिन नदेखिनेदेखि देखिनेसम्म धेरै थरीका बजारमा उपलब्ध छन् ।

ठप्प सुन्नै छाडेपछि त्यसको लागि के उपाय अपनाउन सकिन्छ ?

कान ठप्पै सुन्न छाडेपछि वा सुन्न नसक्नेको कोक्लियर प्रत्यारोपण गर्न सकिन्छ । जुन नेपालमा पनि उपलब्ध छ । काम नगरेको नसामा डिभाइस प्रत्यारोपण गरेर सुन्न सक्ने बनाउन सकिन्छ । त्यसैले बहिरोपनको धेरै नै विकल्प छन् भन्न सकिन्छ ।

अहिले र पहिलेको तुलनामा मान्छेको श्रवण क्षमताको स्थिति के छ ?

राष्ट्रियस्तरमा यसबारे निश्चित अध्ययन भएको छैन । भएका सानोतिनो अध्ययनले सार्क राष्ट्रमध्ये सबैभन्दा बढी नेपालमा कानको समस्या भएको पाइएको छ । १७ प्रतिशत नेपालीमा केही न केही रुपमा बहिरोपनको समस्या भएको देखिन्छ । राष्ट्रिय बहिरोपन निवारण समितिले पहिलोपटक नेपालमा राष्ट्रिय रणनीतिअन्तर्गत विश्व स्वास्थ्य संगठनको सहयोगमा पहिलोपटक २० वर्षमा कसरी बहिरोपनको रोकथाम गर्न सकिन्छ भनेर गर्न नीति बनाउन लागेका छौं ।

श्रवण क्षमता पूर्ण रुपमा गुमाएपछि व्यावहारिक जीवन चलाउन कति कठिन हुन्छ ?

कानको बहिरोपन बढेर गएको छ भने घर, परिवार र सामाजिक जीवनमा सञ्चार गर्न नै सक्दैन । यसले त्यस्ता व्यक्तिमा आफ्नो कुरा पनि पोख्न र अरुको कुरा सुन्न नपाएपछि एक किसिमको तनाव लिने, हीनताबोध हुने, कान नसुन्दा अपहेलित पनि हुने, एन्जाइटी बढ्ने, डिप्रेसनमा जाने जस्ता धेरै समस्याको सामना गर्नुपर्छ ।

दीर्घकालीन अवस्थामा गएर कान नसुन्नेमा बिर्सिने रोग ६ गुणा बढी हुन्छ । मानसिक स्वास्थ्यको लागि पनि कान राम्रोसँग सुन्नु जरुरी छ । सामाजिक व्यवहारमा मात्र हैन सामाजिक योगदानमा पनि पछि पर्ने हुन्छ ।

कानलाई स्वस्थ राख्न र श्रवण क्षमता बचाइराख्न के गर्नुपर्छ ?

कान संवेदनशील अंग हो । कानको रोग पनि ठूलो स्वास्थ्य समस्या हो भनेर लिनुपर्छ । यसबारे ससचेत हुन जरुरी छ । संक्रमण हुन नदिने र भएमा बेवास्ता नगर्ने, उच्च ध्वनि हुने ठाउँमा बस्नु भएन । हेडफोनमा लामो समयसम्म ठूलो स्वरमा संगीत सुन्नु भएन ।

बेलाबेलामा कानको परीक्षण गराइरहनुपर्छ । यसबारे सचेतना कम भएको हुँदा राष्ट्रिय स्तरबाट नै यसको निवारणको लागि नीति ल्याउनुपर्छ । आवाजविहीनको आवाज भनिने आम सञ्चारमाध्यमले पनि राजनीतिक समाचारलाई मात्र प्राथमिकता नदिएर स्वास्थ्यसँग जोडिएका यस्ता संवेदनशील विषयवस्तुलाई स्थान दिनुपर्छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार