मंसिर १७ गते शनिबार बगनासकाली गाउँपालिका-१, चिर्तुङधारास्थित दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएकाहरु बिरामी परेको बिरामी गुनबहादुर गाहाले बताए । ताराबहादुर गाहा, रिखीराम गाहा, दलबहादुर गाहा, गुनबहादुर गाहा लगायत दर्जन बढी परिवारका सबै बिरामी परेका छन् । चिर्तुङधारा स्वास्थ्य चौकी प्रमुख सिअहेव अधिकृत नोदप्रसाद बस्यालका अनुसार ७० जना बिरामीलाई सोमबार जाँच गरिएको थियो ।

बिरामी भएकाहरुलाई ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको उनले बताए । अधिकांशलाई औषधि वितरण गरिएको छ । तर औषधिले काम नगरेपछि स्थानीय स्वास्थ्य संस्था, तानसेनका निजी स्वास्थ्य संस्था र मिसन अस्पतालमा पुगेका थिए । कतिपयले आइतबार खप्न सकिन्छ कि भन्ने भएपनि सोमबार भने अधिकांश बिरामी आत्तिएर अस्पताल पुगेका थिए ।

मिसन अस्पतालका अनुसार सोमबार २२ जना बिरामी उपचारका लागि आएका थिए । त्यसमध्ये चार जनालाई भर्ना लिएर उपचार गर्नु परेको छ । अस्पतालका व्यवस्थापक जीवन भट्टराईका अनुसार सबै बिरामी खतरामुक्त भएपछि घर पठाइएका हुन् । ‘घरमा आए पनि हामीलाई धेरै समस्या भएको छ,’ स्थानीय दानबहादुर गाहाले भने, ‘पेट खाएको खायै छ ।’

वडाध्यक्ष शेरबहादुर रानाका अनुसार बिहे भएको घरमा गएर भोज खाने प्राय: सबै बिरामी परेकाले समस्या आएको छ । ‘कतिपय घरमै सहेर, खटाएर पनि बसेका छन्,’ उनले भने, ‘घरका प्राय: सबैजसो बिरामी भएको अवस्था छ । कतिपयले सहनै नसक्ने भएपछि मात्र बिरामीहरु अस्पताल गएका हुन् ।’ के कारणले ‘फुड पोइजन’ भयो भन्ने अनुमानसमेत गर्न नसकेकिएको वडाध्यक्ष रानाले बताए । यहाँ प्युठान नगरपालिका–६, गुरुङगाउँबाट जन्ती आएका थिए ।

बिरामी भएकाहरुका अनुसार घरमा ल्याएको बटुकमा कुनै समस्या नदेखिएको बताएका छन् । भोजमा पाडा (राँगो) को मासु, पुलाउ, आलु र गोभीको तरकारी, मेवाको अचार, बटुक, आलु मुलाको अचार थियो । कतिपयले पानी धमिलो देखिएको र पानीकै कारण पनि हुन सक्ने आशंका गरेका छन् । प्यूठानमा समेत भोज खाएर गएकाहरु बिरामी परेका छन् । जन्ती आएका प्यूठानका एकै गाउँका ४५ जना बिरामी परेका छन् । स्वास्थ्य चौकी चिर्तुङधाराले मंगलबार पनि बिरामीको जाँच गर्ने जनाएको छ । बिरामीको अवस्था फलोअप गरेर औषधि वितरण गरिने स्वास्थ्य चौकी प्रमुख बस्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय