
भद्रपुर । झापा कारागारस्थित बन्दी विकाश पुस्तकालय सचिव रमेश पोखरेलले फिराद पत्र, बहस पैरवी, जाहेरी लगायतका आधारमा अदालतबाट गर्ने फैसला निष्पक्ष नहुँदा देशभरका कारागारमा कैदी बन्दीको सङ्ख्या ह्वातै बढेको बताएका छन् ।
नेपाल वार एसोसिएसन झापाद्वारा जिल्ला कारागार झापाको सभा हलमा सोमबार आयोजित पुस्तक हस्तान्तरण तथा निःशुल्क कानुनी शिविर अन्तरगत सञ्चालित थुनावाहरुसंगको गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव पोखरेलले यस्तो बताएका हुन् ।
पीडितको बयानलाई मुख्य प्रमाणको रुपमा अदालतले मान्यता नदिएसम्म निर्दोष मानिसले कैदी जीवन बिताउनु बाध्य रहेको उनले बताए । एउटै मुद्दामा फरक फरक फैसला हुने हुँदा र अदालतले निष्पक्ष फैसला नगर्दा जनमानसमा अदालत प्रतिको विश्वास गुम्दै गएको बताउँदै उनले भने, ‘कुनै पनि राजनीति आग्रह र पूर्वाग्रह प्रति सोचका आधारमा फैसला गर्दा निर्दोष मानिसले कैदी जीवन बिताउन बाध्य हुनु परेको छ ।’
अदालतले ठुला बडाका मुुद्दाहरु तुरुन्त फैसला गरे पनि सर्वसाधारणका जनताको मुद्दामा भने बर्षौ झुलाउने गरेको उनको भनाई छ । शक्ति र पहुँचको भरमा गरिने फैसला र सर्वसाधारणलाई गरिने फैसलामा अदालतले सदैव विभेद गर्ने गरेको हुँदा कानुन व्यवसायीहरूले खबरदारी गर्नु पर्ने उनले जोड दिए ।
बर्षौ सम्म पनि मुद्दाको फैसला नगर्ने झुलाउने र कारागार मात्र थुनिरहने हो भने आफूहरूलाई मृत्युदण्ड दिन समेत उनले आग्रह गरेका छन् । गरिब थुनुवाहरूका लागि समेत मुद्दा बहस बैरवी गर्दा कानुन व्यवसायीहरूले लिने शुल्कको मापदण्ड निर्धारण गर्नु पर्ने कानुन व्यवसायीहरूलाई उनले आग्रह गरे ।
सो कार्यक्रममा कैदी बन्दीहरू नीलबहादुर दर्जी, नवराज श्रेष्ठ, असरकान्त झा, अनु श्रेष्ठ लगायतका बन्दीहरूले अदालतले आफूहरूलाई समयमा मुद्दाको पेशी नदिएर कारागारमा थुनेर राखेको गुनासो पोखेका थिए ।
कानुनी जटिलताका विषयमा कैदी बन्दीहरूले उठाएका जिज्ञासाको जवाफ एसोसिएसन सचिव हेमकला कट्टेल, प्रशिक्षक खगेन्द्र खरेल, सहजकर्ता चूडामणि पराजुली, नारायणप्रसाद पौडेल लगायतले फर्काएका थिए । सो अवसरमा महिला कारागार तथा पुरुष कारागार दुवै तिर छुट्टाछुट्टै रुपमा सञ्चालित कार्यक्रममा मुलुकी ऐनको आचारसंहिता समेटिएको नेपाल ऐन सङ्ग्रह नामक पुस्तक पुस्तकालय प्रमुख लयप्रसाद सिवाकोटीलाई तथा महिला कारागार प्रमुखलाई हस्तान्तरण गरिएको थियो ।
बार एसोसिएसनकी सचिव कट्टेलको अध्यक्षता तथा सहसचिव देवीमाया निरौला अधिकारीले सञ्चालन गरेको कार्यक्रममा औचित्यमाथि प्रशिक्षक खगेन्द्र खरेलले प्रकाश पारेका थिए । टाइम्स अफ प्रदेश बाट