काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्बोडियाको होटेलमा आगलागीमा परेर ज्यान गुमाएका झापाका निराकार पाण्डेको परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

निराकार पाण्डेका बुबा अग्नी पाण्डेसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्री दाहालले शव नेपाल ल्याउन र अन्य सहयोग गर्ने प्रतिदबद्धता जनाएका हुन् । प्रधानमन्त्री दाहालले बिहीबार कम्बोडियाको ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गरेका थिए ।

बिहीबार बिहान भएको भेटमा प्रधानमन्त्री दाहालले घटनाप्रति दुःख व्यक्त गरेका थिए । प्रधानमन्त्रीसँगको भेटमा अग्नि पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री दाहालले निराकारको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको र निराकारको शव नेपाल ल्याउन एवं परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय