काठमाण्डाै – पोखरामा भएको यति एअरलाइन्सकाे विमान दुर्घटनामा उद्धारको काम भइरहेको छ । अप्ठ्यारो खोँच र मान्छेको भिडले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । समयमै दमकल पुग्न नसक्दा आगो निभाउन नै झन्डै तीन घण्टा लागेको छ ।

पोखराको पृथ्वी चोकबाट सेती नदीको किनार रहेको बाटोका साथै बुद्ध चोकबाट आगो निभाउनका जाने दमकल एवम् पानीका ट्याङ्कर पुर्‍याउनसमेत समस्या भएको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । भिडभाडका कारण दुर्घटनास्थलमा मोबाइल सम्पर्क पनि असहज बनेको छ । अहिले आगो निभाइएको र खोजी तथा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रका अनुसार विमान पोखरा टावरसँग बिहान १० बजेर ५० मिनेटमा सेती खोँच भन्ने ठाउँमा सम्पर्कमा आएको र त्यसपछि दुर्घटना भएको हो । विमान काठमाण्डौ विमानस्थलबाट बिहान १० बजेर ३३ मिनेटमा पोखराका लागि उडान भरेको थियो ।

उद्धारका लागि दुई वटा हेलिकप्टर परिचालन गरिएको छ । काठमाण्डौ तथा पोखरा विमानस्थलमा खोजी तथा उद्धार कार्यका लागि थप हेलिकोप्टरहरू तयारीका साथ राखिएको र स्थल मार्गबाट खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, विमानस्थलकाे ‘रेस्क्यु एन्ड फायर फाइटिङ’ तथा नेपाल प्रहरीसमेत संलग्न भइ उद्धार भइरहेको केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय