वि.सं. २०१३ साल जेठ १३ गते ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नम्बर ३ सिकैचामा जन्मिएका देवराज घिमिरे हाल झापाको अर्जुनधारा नगरपालिका ६ झापा निवासी हुन् ।
बुबा स्व. पदमप्राद घिमिरे र आमा भिमकुमारी घिमिरेको कोखबाट जन्मिएका १२ जना छोरी छोरी मध्येका माईलो छोरा हुन् देवराज ।
आर्थिक अवस्थामा निम्न वर्गीय परिवारमा जन्मिएका घिमिरेले गाउँकै श्रीसिंहदेवी प्राथमिक विद्यालयबाट स्कुले शिक्षा सुरुवात गरी भानु पब्लिक हाई स्कुलबाट २०२९ सालमा एसएलसी उत्तीर्ण गरे ।
धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आइए उत्तीर्ण गरेपछि उनी स्नातक तह अध्ययनका लागि काठमाडौँ छिरे । काठमाडौँको त्रिचन्द्र क्याम्पस अध्ययन कै क्रममा कम्युनिष्ट राजनीतिमा आकर्षित भएका घिमिरेले बुर्जुवा शिक्षाले क्रान्ति सफल नहुने र बहिष्कार गर्नु पर्ने विभिन्न राजनैतिक प्रशिक्षणहरू पाएकाले उनी त्यो शिक्षा बहिस्कार गर्ने निर्णयमा पुगे ।
२०३१ सालमा झापा विद्रोहपछि अपिल पैशारणको लाईनबाछ नेपाल कम्यनिष्ट पार्टीको सम्पर्कमा रही २०३२ सालदेखि अखिल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके)को काममा लागे । २०३ सालमा बुर्जुवा शिक्षा बहिस्कार गर्दै गाउँमा पुगेर पार्टी सङ्गठन निर्माणमा खटिएका घिमिरे भूमिगत भएर कोकेमा काम गरेको सम्झन्छन् ।
बि.सं. २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका घिमिरेले आफ्नो ४५ बर्षे लामो औपचारिक राजनीतिक जीवनमा थुप्रै जिम्मेवारीमा रहेर काम गरे । घिमिरेका अनुसार, २०३५ सालमा नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठक, २०३९ सालमा इलाम जिल्ला पार्टी प्रमुख, २०४९ सालमा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य भएको हो ।
२०५० सलमा नेकपा एमालेको मेची अञ्चल इन्चार्ज रहेका घिमिरे २०५८ सालमा धेरै विभागहरू हेर्ने ठाउँमा पुगे । केन्द्रीय स्वास्थ्य विभागको इन्चार्ज, इन्जिनियरिङ विभाग, युवा सङ्घ नेपाल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, प्रगतिशील प्राध्यापक सङ्घको इन्चार्ज पनि जिम्मेवारीमा बसेर काम गर्न पाएको घिमिरेको भनाई छ । २०७५ सालमा नेकपा एमाले प्रदेश १ को अध्यक्ष भएका घिमिरे, २०७८ सालमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश १ इन्चार्जको जिम्मेवारीमा रहेकै बेला घिमिरेले २०७९ साल मङ्सिर ४ गते भएको निर्वाचनबाट झापा क्षेत्र नम्बर २ बाट निर्वाचित हुने अवसर प्राप्त गरे ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्रको रूपमा चिनिएका घिमिरेका लागि यो पटक विजयी यात्रा निक्कै लाभदायक बन्यो । उनी राज्यको वरियतामा चौथो नम्बरमा रहेको प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएका छन् । उनी यस अघि २०५६ सालमा राष्ट्रिय सभा सदस्य भएका थिए । २०७९ सालको प्रतिनिधि सभा निर्वाचन उनको लागि पहिलो विजयी हुने मौका र अवसरको रूपमा लिइएको छ। आफ्ना विचारहरू स्पष्ट रूपमा राख्ने, पार्टी अनुशासनलाई आत्मसात् गर्ने, पार्टी नेतृत्वको विश्वास पात्रको रूपमा उनले छवि बनाएका छन् ।
पाँच दशक लामो अविरल राजनीतिक यात्रामा कहिल्यै पदीय लोभ र लालचमा आफू नफसेको बताउने घिमिरे सम्पूर्ण जीवन पार्टी र राष्ट्रकालागि समर्पित गरेको सुनाउँछन् । सभामुखमा निर्वाचित भएका देवराज घिमिरे हिजो गरेका कामहरूको अनुभवबाट प्रतिनिधि सभालाई निष्पक्ष रूपमा सञ्चालन गर्ने बताउँछन् । देश र जनताले महसुस गर्नेगरि काम गरेर देखाउने घिमिरेले प्रतिबद्धता जनाएका छन् ।