
कार्तिक १७, २०७३- भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीन दिने राजकीय भ्रमणका लागि बुधबार काठमाडौं आउँदैछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जी नेपालको भ्रमणमा आउन लागेका हुन् । १८ वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायणनले विसं २०५५ जेठ १४ गते नेपालको औपचारिक भ्रमण गरेका थिए ।
मुखजीको सम्मानमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।
राष्ट्रपति भण्डारीले बिहान साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा भारतीय समकक्षी मुखर्जीलाई स्वागत गर्ने तय भएको छ ।
बुधबार नै राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति मुखर्जीले शीतल निवासमा भेटवार्ता गर्नेछन् भने राष्ट्रपति भण्डारीले बुधबार साँझ रात्रिभोजको आयोजना गरेकी छन् ।
भारतीय राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजाअर्चना गर्ने छन् भने त्यसपछि काठमाडौँ विश्वविद्यालयले मुखर्जीलाई मानार्थ उपाधि प्रदान गर्ने कार्यक्रम छ । बिहीबार नै भारतका राष्ट्रपतिको सम्मानमा नागरिक अभिनन्दन हुनेछ भने नेपाल-भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालालाई उनले सम्बोधन गर्नेछन् ।
शुक्रबार जनकपुरस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्ने मुखजी पोखरा जानेछन् । शुक्रबार नै उनी स्वदेश फर्कने कार्यक्रम छ । नेपालमा रहँदा मुखर्जीले राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ । मुखर्जी नेपाललाई नजिकबाट चिन्ने भारतीय राजनीतिज्ञ हुन् ।