कात्तिक २५, २०७३ दमक : झापा कन्काई नगरपालिकाको एक अधिकारी परिवारमाथि अदृष्य रुपमा ढुंगा आक्रमण प्रहार हुन थालेपछि परिवार आक्रान्त बनेको छ। कन्काई नगरपालिका-१ का श्रीनारायण अधिकारीको परिवारमाथि पटक-पटक ढुंगा आक्रमण हुन थालेपछि उनीहरुले प्रशासनलाई समेत गुहारेका छन्। आफुहरुको बचाउँको माग गर्दै इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरिक्षक मधुकुमार थापासँग बचाँउको माग गरेका हुन्। अज्ञात आक्रमण भइरहेको सुनेपछि अनुगमनका लागि पुगेका थापासँग आफुहरुको ज्यान जोगाई दिन अनुरोध गरेका हुन्। अधिकारीको घरमा अदृष्य आक्रमणका कारण घरका सबैजसो परिवार घाइते भएका छन्। श्रीनारायणको टाउँकोमा गंभीर चोट लागेको छ भने उनकी श्रीमती चन्द्रकलाको छातीमा निलडाम भएको छ। अधिकारी परिवारका अनुसार गएको जेठ महिनामा राती घरमा जतै-ततैबाट अदृष्य रुपमा ढुड्गा बर्सिएको थियो भने त्यो क्रम अहिलेसम्म जारी छ।



