भाद्र २९, २०७३- जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी बिहीबार इन्द्रजात्रा मनाइँदै छ । रथ यात्राका लागि कोहिटीका सिकर्मी र ज्या:बहालका नकर्मी जातिका गुठीयारहरूले बुधबार रथ निर्माण गरेका छन् ।

जीवित देवीका रूपमा रहेकी शाक्य जातकी कुमारी, दुई बालक गणेश र भैरवका रूपमा बेग्लाबेग्लै रथमा राखी बिहीबार दरबार स्क्वायरस्थित तल्लो टोल, शुक्रबार माथिल्लो टोल र मंगलबार नानिचा:या: भनी महिलाहरूले रथ तान्ने परम्परा छ । नानिचा:या: को दिनमा राष्ट्रप्रमुखले कुमारी, गणेश र भैरवबाट टीका, प्रसाद ग्रहण गर्ने चलन छ ।

भूकम्पका कारणले रथ तान्ने रुटमा राखिएका टेको अझै उस्तै भएकोले रथ यसपालि पनि दिउँसै तानिने इन्द्रजात्रा व्यवस्थापन समितिले बताएको छ । समितिका अध्यक्ष गौतम शाक्यले रथ तान्ने रुटमा धराप घरहरू भएकाले दिउँसो तान्ने निर्णय भएको बताए ।

‘टेको राखिएका ब्रह्मटोल र हनुमानढोकाअगाडि अलि बढी समस्या देखिन्छ,’ उनले भने । भूकम्पले ध्वस्त बनेको जात्रा अवलोकनको क्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विदेशी कूटनीतिक नियोगका अधिकारी बस्ने हनुमान ढोका दरबारस्थित गद्दी बैठक र चियापान गर्ने बैठक कक्ष पुनर्निर्माण भइनसकेकाले वसन्तपुर डबलीमा टेन्ट राखी व्यवस्थापन गरिएको छ ।

जात्रामा दस अवतारको नाच देखाउने दरबार स्क्वयारको त्रैलोक्य मन्दिर पनि पुनर्निर्माण भइनसकेकाले मन्दिरमा अस्थायी मञ्च बनाएर नाच प्रदर्शन गरिनेछ । उक्त मञ्चमा मंगलबारदेखि साँझ मत्स्य, कच्छप, बराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कि दस अवतारको नृत्य मञ्चन गरिन्छ । अन्तिम दिन नानिचा:या:को राति इन्द्रध्वजा फहराइएको लिंगो ढालेर वाग्मतीमा सेलाएपछि जात्रा समाप्त हुन्छ । यो पर्व बिहीबार ललितपुर, भक्तपुर, कीर्तिपुर, दोलखालगायत स्थानमा भव्यसाथ मनाइँदै छ । जात्रा राजा जयप्रकाश मल्लले चलाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय