नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली झापा आउने कार्यक्रम तय भएको छ ।
दमकमा युवा संघ नेपालको नगर कमिटीले भोली (शनिबार) आयोजना गर्ने पार्टीका पुराना कार्यकर्ता तथा सेल्टर दाताहरुलाई सम्मान कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गर्न ओली आउने निश्चीत भएको युवा संघ नेपालका नगर कमिटी अध्यक्ष राम पौडेलले जानकारी दिए । सो अवसरमा संघले २०४५ साल अघि पार्टी कार्यकर्ताहरुलाई भुमिगत भएको अवस्थामा आश्रय दिएर योगदान पुर्याउने ६० जनालाई सम्मान गर्ने कार्यक्रम तय भएको अध्यक्ष पौडेलले बताए ।
दमक–१५ स्थित नेकपा एमालेको पार्टी कार्यालयमा आयोजना गर्ने सो कार्यक्रममा पूर्व मन्त्री एवम् एमालेका पोलिटब्यूरो सदस्य अग्नी खरेल र युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलको विशेष आतिथ्यता रहने युवा संघले जनाएको छ ।
झापा क्षेत्र नं ७ का सांसद समेत रहेका अध्यक्ष ओलीले झापाको धरमपुरमा एउटा सडक निर्माणका शुभारम्भ गर्ने लगायतका विभिन्न विकासे योजनाहरुबारे स्थलगत जानकारी लिने कार्यक्रम पनि रहेको नेकपा एमालेका १ नम्बर प्रदेश कमिटी सदस्य देवेन्द्र दाहालले जानकारी दिए ।



