काठमाडौँ, ३० कात्तिक । हनुमानढोका सङ्ग्रहालयमा रहेका सम्पूर्ण सामग्रीलाई प्रिफ्याबबाट तयार गरिएको टहरोमा राखिने भएको छ ।
भूकम्पका कारण हनुमानढोका दरबार क्षतिग्रस्त हुन पुगेपछि त्यहाँ भएका त्रिभुवन, महेन्द्र र वीरेन्द्र मेमोरियल ग्यालरी अवलोकन बन्द गरिएको छ । ती ग्यालरीमा रहेका महत्वपूर्ण सामग्रीलाई चर्किएका भवनमै राखिरहँदा सुरक्षित नहुने देखिएपछि मङ्गलबारबाट टहरोमा सारिने भएको छ ।
हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक अरुणा नकर्मीले भने, ‘क्षतिग्रस्त भवनमा त्यसै राखिरहँदा ती सामग्री असुरक्षित हुने भएकाले सुरक्षाका लागि टहरोमा सार्ने भएका हौँ ।’ हनुमानढोका दरबारको पूर्वतर्फ रहेको भण्डारखाल नजिकै प्रिफ्याबको टहरो निर्माण गरिएको छ । त्यस टहरोमा आल्मुनियमका ठूला बाकसभित्र पूर्व राजाहरूसँग सम्बन्धित तथा उनीहरूले प्रयोग गरेका ती सामग्रीलाई सुरक्षितसाथ राखिनेछ ।
मल्लकालीन हनुमानढोका दरबारका विभिन्न स्थानमा सङ्ग्रहालय राखिएको थियो । ती भत्किएका संरचनाको पुनःनिर्माण सुरु हुने मिति अझै टुङ्गो लाग्न सकेको छैन । त्यस क्षेत्रका कतिपय संरचना निर्माण गर्न विभिन्न निकायले जिम्मेवारी पाइसके पनि त्रिभुवन, महेन्द्र र वीरेन्द्र मेमोरियल ग्यालरी रहेका भवन, नौतले दरबार, चारबुर्जे भवन लगायतको निर्माणका लागि औपचारिक सम्झौता भएको छैन । सम्झौता नभए पनि चीन सरकारले बनाइदिने अनौपचारिक सहमति भएको पुरातत्व विभागका पदाधिकारीहरू बताउँछन् ।
त्रिभुवन मेमोरियल ग्यालरीमा तत्कालीन राजा त्रिभुवन २००७ साल फागुन ४ गते नयाँ दिल्लीबाट स्वदेश फिर्दा पहिरिएको पोसाक, उनको निजी सचिवालयका सामग्री, विवाहमा पहिरिनुभएका पोसाक लगायतका सामग्री राखिएका छन् ।
त्यस्तै लोहनचोकको भवनमा रहेको महेन्द्र मेमोरियल ग्यालरीमा तत्कालीन राजा महेन्द्रले पहिरिएका पोसाक, तत्कालीन मन्त्रिपरिषद् बैठकका फर्निचर, निजी सचिवालयका सामग्री, उपहार, तस्बिर लगायतका सामग्री छन् ।
नारायणहिटी दरबार हत्याकाण्डपछि बनाइएको वीरेन्द्र मेमोरियल ग्यालरीमा तत्कालीन राजा वीरेन्द्रले प्रयोग गर्नुभएको सामग्री, पोसाक, उपहार लगायतका सामग्री राखिएका छन् । त्यस्तै हनुमानढोका दरबारभित्र सिंहासन कक्ष, हातहतियार कक्ष लगायतमा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गर्नुभएको बन्दुक, राज्यारोहणका बखत बस्ने गरेको सिंहासन, पुराना मुद्रा आदि सामग्री राखिएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।



