काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । प्रचण्डले सोमबार बेलुका टेलिफोन गरेर प्रतिबन्धित पाँच सय र हजार दरका भारु नेपालमा पनि सटही व्यवस्था गर्न आग्रह गरेका हुन् । मोदीले समाधानका लागि पहल गर्ने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भारत सरकारको निर्णयको स्वागत गर्दै मोदीलाई बधाई दिएका थिए । प्रचण्डले नेपालमा पनि भारु चलनचल्तीमा रहेकाले भारतीयसरह नै सटहीको व्यवस्थापन गरिदिन मोदीलाई आग्रह गरेको उनका स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिए ।

‘भारतीयसरह नै नेपालीले नेपालकै बैंकमा प्रतिबन्ध लागेका नोट सटही गर्ने व्यवस्था मिलाउन भारतीय प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ,’ प्रचण्डका स्वकीय सचिव दाहालले भने, ‘भारतीय प्रधानमन्त्रीले पनि नेपालमा परेको समस्यालाई आफूले गम्भीर रूपमा लिएको र समाधानका लागि पहल गर्ने बताउनुभएको छ ।’

भारतीय प्रधानमन्त्री मोदीले समस्या समाधानका लागि दुई देशका अर्थमन्त्रीले समन्वय गर्ने गरी व्यवस्था मिलाउने आश्वासन दिएका छन् । बालुवाटारमा अर्थमन्त्री कृष्णबहादुर महरा, नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाललगायतसँग छलफलपछि प्रधानमन्त्री प्रचण्डले मोदीलाई टेलिफोन गरेका थिए ।

दुई अर्थमन्त्रीबीच पनि वार्ता
अर्थमन्त्री कृष्णबहादुर महराले पनि भारतीय वित्तमन्त्री अरुण जेट्लीसँग टेलिफोन गरेर पाँच सय र हजार दरका भारुमा प्रतिबन्ध लागेपछि उत्पन्न समस्याबारे कुरा गरेका छन् । नेपालमा पनि चल्तीमा रहेका ती नोट व्यवस्थापनको पहल गर्न महराले आग्रह गरेका छन् ।

‘नेपाली जनतासँग रहेको भारुको व्यवस्थापनका लागि अर्थमन्त्रीले आग्रह गर्नुभएको छ,’ अर्थमन्त्रीका स्वकीय सचिव राहुल महराले भने, ‘यसलाई सकारात्मक रूपमा लिएर समस्या समाधानका लागि आग्रह गर्नुभएको छ ।’

जवाफमा जेट्लीले नेपालमा उत्पन्न समस्याका विषयमा आफूहरू पनि गम्भीर रहेको बताएको स्वकीय सचिव महराले जानकारी दिए । छिटै नै समस्या समाधानका लागि पहल गर्ने आश्वासन जेट्लीले दिएको उनले बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय