झापाकाे अर्जुनधारा–११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यामा संलग्न रहेकाे अभियाेगमा पक्राउ गरेका ३ जनालार्इ मंगलबार अदालतमा पेश गरिने भएकाे छ।

बिर्तामाेड प्रहरी प्रमुख डिएसपी जितेन्द्र बस्नेतका अनुसार हत्याको अभियोगमा पक्राउ परेका सन्तोषकुमार पोखरेल, समीर पोखरेल र सुधीर पोखरेलमाथिकाे अदालती कारबाही मंगलबारबाट शुरु हुने भएकाे हाे।

सुधीर, सन्ताेषकुमार र समीर गत असोज १९ गते पक्राउ परेका हुन्। राजनीतिक र सुरक्षा निकायमै पहुँच भएका पोखरेलत्रय माथिकाे अदालती कारबाही बिर्तामोड प्रहरी प्रमुख डिएसपी राजकुमार सिलवालले जाहेरी दिनै नमानेपछि राेकिएकाे थियाे।

कर्फ्यू हट्याे

झापाको बिर्तामोडमा शुक्रबारदेखि लगाइएको कर्फ्यू सोमबारबाट हटाइएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबार अपरान्ह ३ बजेदेखि कर्फ्यू हटाइएको हो।

अर्जुनधारा–११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शुरु भएको आन्दोलन अनियन्त्रित भएपछि शुक्रबारदेखि बिर्तामोडमा कर्फ्यू लगाइएको थियो।

झापा जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार सोमबार अपराह्न ३ बजेबाट निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका हुन्। यससँगै झापाको बिर्तामोडको जनजीवन सामान्यतर्फ उन्मूख भएको छ।

शिवाकोटीको हत्यामा संलग्नलाई कानूनी कारबाहीको माग गर्दै बिर्तामोडमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा–११ का ३० वर्षीय नरेश थापाको शुक्रबार मृत्यु भएको थियो। नागरिक आन्दोलन उत्कर्षमा पुगेपछि प्रशासनले शुक्रबार दिउँसो साढे १ बजेबाट निषेधाज्ञा जारी गरेको थियो।

बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले लक्ष्मण शिवाकोटीको हत्या नै भएको बताएका छन्। सरकारद्वारा गठित छानवीन समितिसँगको कुराकानीमा उनले बालकको शव भेटिएको स्थान र घटनाक्रमबाट हत्याकै पुष्टि हुने बताएका हुन्।

अनुसन्धान उच्चस्तरीय टोली

अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्याका बारेमा अध्ययन गर्न सरकारद्वारा गठित उच्चस्तरीय छानविन समितिले साेमबार काम सम्पन्न गरेको छ।

गृह मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादवको संयोजकत्व शनिबार झापा पुगेको टोलीले सरोकारवालाहरुसँग छलफल गरेकाे छ।

झापा पुगेका छानवीन समिति सदस्यहरु स्थलगत अनुसन्धान गरी सोमबार बिहान ११ बजे काठमाडौं फर्किएका छन्। झापा प्रमुख जिल्ला अधिकारी तिवारीका अनुसार आइतबार दिनभर
लक्ष्मण शिवाकोटीकाे घर, मृतक नरेश थापाको घरमा गएर घटनाका विषयमा जानकारी लिएका थिए।

राजनीतिक दल, बिर्तामोड नगरपालिकाका मेयर, पत्रकार तथा जिल्ला सुरक्षा समितिका सदस्यसँग घटनाका विषयमा जानकारी लिएर टाेलीका सदस्य काठमाडौ फर्किएका हुन्।

चार सदस्यीय उच्चस्तरीय टोलीले मृतक लक्ष्मण शिवाकोटीका बुवा बद्रीप्रसाद र आमा अञ्जनासँग घटनाका विषयमा जानकारी लिएको छ। साथै छिमेकीसँग पनि घटनाको विषयमा अध्ययन गरेको यादवले बताएका छन्। उक्त टोलीले बालकको शव भेटिएको स्थानको अध्ययन गरेको छ।

उच्चस्तरीय समितिमा नेपाल प्रहरीका नायव महानिरीक्षक रमेशकुमार भट्टराई, सशस्त्र प्रहरीका नायव महानिरीक्षक चिरञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हरिहर पौडेल सदस्य रहेका छन्। टोलीले तयार पारेको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया शुरु हुनेछ।

बालकको हत्या नै भएको होः शिवाकोटी

बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले लक्ष्मण शिवाकोटीको हत्या नै भएको बताएका छन्। सरकारद्वारा गठित छानवीन समितिसँगको कुराकानीमा उनले बालकको शव भेटिएको स्थान र घटनाक्रमबाट हत्याकै पुष्टि हुने बताएका हुन्।

शिवाकोटीको हत्या गरेर अपराध लुकाउन विभिन्न षड्यन्त्र रचिएको बताएका छन्। ‘मलाई कसैले गोली हानेर मार्छ भने म हस्ताक्षर गरेर मर्न तयार छु,’ उनले भने, ‘तर, लक्ष्मणको डुबेर मृत्यु भएको होइन, उसलाई कसैले हत्या गरेर फालेको हो।’ मेयर शिवाकोटीले एक जना ‘अपराधी डाक्टर काठमाडौंबाट  बच्चा डुबेर मरेको भनेर रिपोर्ट पठाएको’ भन्दै आक्रोश पोखेका छन्।

मेयर शिवाकोटीले भद्रपुरमा पोष्टमार्ट्मका लागि लाँदा लक्ष्मणको मृत्यु डुबेर नभएको बताइएपछि धरान लान भनिएको प्रसंग पनि उल्लेख गरेका छन्। ‘त्यहाँ पोष्टमार्टम गर्ने डाक्टरले भनेका छन्, यो नानी डुबेर मृत्यु भएको होइन, म सुन्दैछु काठमाडौंमा बस्ने कुनै डाक्टरले पाँच लाख रुपैयाँ खाएर यस्तो रिपोर्ट दिएको हो।’

प्रतिक्रिया

सम्बन्धित खवर