झापाको गौरादह नगरपालिकालाई रणनीतिक रुपमा विकास गराउन नगरभित्रका सिमसारलाई पर्यटन उद्योगको रुपमा विकास गर्नुपर्नेमा स्थानीय राजनीतिक दलहरुले जोड दिएका छन् ।राजनीतिक दलका नगर अध्यक्षहरुले पर्यटनको ठूलो सम्भावना बोकेको गौरादह पोखरी र चाँदु सिमसारलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । गौरादह जेसीजले मंगलबार जेसीज सप्ताह अन्तर्गत आयोजना गरेको ‘भिजन गौरादह’ कार्यक्रममा ‘पाँच बर्षपछि गौरादह कस्तो हुने’ शीर्षकमा नगर अध्यक्षहरुले आआफ्नो धारणा राखेका थिए ।कार्यक्रममा नेपाली कांग्रेसका पूर्व नगर अध्यक्ष हेमन्त कार्कीले ऐतिहासिक गौरादह पोखरी र चादु सिमसारलाई गौरादह नगरपालिकाको मूख्य आयस्रोतको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले गौरादहको ऐतिहासिक पोखरी र चादु सिमसारलाई पर्यटकीय क्षेत्र बनाउन सके बार्षिक ५० लाख रुपैयाँ गौरादह नगरपालिकाले भित्र्याउन सक्ने दाबी गरे । उनले भने,–‘अहिले पर्यटन व्यवसाय, उद्योगको रुपमा विकास हुँदै गएको छ, हामीले पोखरीलाई र चादु सिमसारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर आम्दानीको स्रोत बनाउन सक्यौँ भने बर्षेनी ५ लाख पर्यटकलाई गौरादह भित्र्याउन सक्छौँ र जसबाट ५० लाख आम्दानी गर्न सकिन्छ ।’ साथै उनले कृष्णे खोलामा बन्न लागेको सिँचाई आयोजना पनि गौरादहको मुहार फेर्ने एउटा आधार स्तम्भ हुन सक्ने बताए । गौरादहवासी पूर्ण रुपमा कृषि पेशामा निर्भर रहेकोले कृष्णे खोलामा सिँचाई आयोजना बने यसबाट अधिकांश नगरवासीले लाभ उठाउन सक्ने धारणा राखे ।कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष खेमराज तिम्सिनाले पनि गौरादहको विकासका लागि पोखरी र चादु सिमसारलाई पर्यटकीय क्षेत्र बनाउनुपर्नेमा जोड दिए । उनले गौरादहलाई व्यवस्थित नगरको रुपमा विकास गर्न पुराना बाटोलाई ५० फुट कायम गर्नुपर्ने र नयाँ बाटो बनाउँदा ३० फुटभन्दा कम्ति कायम गर्न दिननहुने बताए । उनले प्लटिङ व्यवसायीहरुले निर्माण गरिरहेका १० फुटे बाटो निर्माण कार्यलाई तत्काल रोक्नुपर्नेमा जोड दिए । तिम्सिनाले नगरको ढल व्यवस्थापनमा रणनीतिक योजना ल्याएर दीर्घकालीन समाधान हुने गरि ढल निकास गर्नुपर्ने बताए ।
यस्तै नेकपा एमालेका नगर अध्यक्ष मित्रदेव काफ्लेले पनि गौरादहको पोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ढिलाई गर्न नहुनेमा जोड दिए । उनले पोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भनि लामो समयदेखि बहस र छलफल हुँदै आएपनि ठोस काम हुन नसकेकोमा आपत्ति जनाए ।स्रोत साधन भएरपनि उपयोग गर्न नसक्नु गौरादहको सबैभन्दा कमजोर पक्ष भएको टिप्पणी गरे । कार्यक्रमका प्रमुख अतिथि सांसद दीपक कार्कीले गौरादहको विकासमा आफु अहोरात्र खटिरहेको र भोलिका दिनमा पनि कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले गौरादहलाई समृद्ध बनाउने धेरै सम्भावनाहरु भएपनि पहिलो कार्यक्रमको रुपमा गौरादह पोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
चिनारी दर्शन को फेसबूक पेज बाट सभार गरिएको ।



