(रोल्पा)। ससस्त्र द्वन्द्वको समयमा बाबुआमा दुवै गुमाएका ८८ जना टुहुरा बालबालिकालाई मात्र यो बर्ष राहत वितरण गर्ने जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ । यसअघि एकसय ८० जना टुहुरा बालबालिकालाई राहत वितरण गर्दै आएको थियो । ती मध्ये ९२ जना १८ वर्ष पूरा गरिसकेको हुँदा यस वर्षदेखि उनीहरुले राहत नपाउने जिल्ला प्रशासन कार्यालय रोल्पाका लेखापाल सरस्वती गिरीले जानकारी दिनुभयो ।
उनीहरुले मासिक रु पाँच हजारका दरले राहत पाउँदै आएका छन् । १८ वर्ष पुगेकै कारण आफूहरुले पाउँदै आएको राहतमा कटौती हुने भएपछि उनीहरु निकै चिन्तित भएका छन् । “हामीलाई राज्यले रोजगारीको ग्यारेन्टी दिनुपर्छ” उनीहरु भन्छन्– “हामीले हाम्रा बाबुआमालाई द्वन्द्वका समयमा गुमाइसकेका छौं, अहिले हामीसंग कुनै रोजगार छैन्, अब कसरी बाँच्ने, बाँच्नका लागि भएपनि हामीलाई रोजगार चाहिन्छ ।”
प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले १८ वर्ष पुगेका टुहुरा अव आफै सक्षम बन्ने बेला आएको छ भन्नुभयो । अव उनीहरु आफँैले आफ्नो बारेमा केही सोच्ने भइसकेका छन् । त्यसैले सधँै सरकारको मुख ताकेर बस्नुभन्दा रोजगार नहुँदासम्म आफैँले रोजगारी सिर्जना गरेर अगाडी बढ्नुपर्दछ। प्रजिअ शर्माले भन्नुभयो – कृषि, पशुपालनलगायतका व्यवसाय सञ्चालन गरेर अगाडि बढ्न सके उनीहरु आर्थिक सङ्कटबाट मुक्ति पाउने छन् । रासस



