काठमाडौं, ३१ भदौ ।भारत सरकारले एकतर्फी रुपमा घोषणा गरेको उत्तरप्रदेशको बरहनीबाट काठमाडौंसम्म रेल जोेड्ने प्रस्तावले औपचारिकता पाउने भएको छ ।
गत फागुनमा भारतका रेलमन्त्री सुरेश प्रभुले प्रस्तुत गरेको बजेटमा बरहनीबाट काठमाडौंसम्मको रेल सर्वेक्षणका लागि रकम छुट्याइएको छ । तर, त्यस विषयमा कुनै तहमा छलफल नभएकाले नेपाली पक्ष भने अनभिज्ञ थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा त्यसलाई औपचारिकता दिन भारतले प्रस्ताव गरेको आजको कान्तिपुरमा खबर छ ।
भारतले आफ्नो बजेटमा ३ सय ५९ किमिको बरहनी–काठमाडौं रेल मागको सम्भाव्यता अध्ययनका लागि ५३ लाख ८५ हजार भारतीय रुपैयाँ विनियोजन गरेको थियो । त्यसमध्ये आर्थिक वर्ष २०१६÷१७ मा १६ लाख भारु (साढे २५ लाख नेपाली रुपैयाँ) खर्चिने गरी बजेट राखिएको छ ।
भारतले दुईपक्षीय समझदारीमा यसपटक उक्त योजनालाई पार्न चाहेको छ । बरहनी कपिलवस्तुको सीमा क्षेत्रको कृष्णनगरको पारिपट्टिको भारतीय बजार हो । भारतले एकवर्ष अघि मात्र त्यहाँ ब्रोडगेज रेलवेको विस्तार गरी ठूला सहरहरुसँग रेलवे लिंक जोडेको छ ।



