सिङ्गल स्पानबाट निर्मित एसियाकै लामो र उचाइमा भएको मुलुककै पहिलो दाबी गरिएको कुश्मा–मुडिकुवा झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ । गत पुष १७ गते नेपाली कांग्रेसका सभापति स्वर्गिय सुशील कोइरालाले उद्घाटन गरेको पुल निर्धारित समयभन्दा ४ महिना पहिला निर्माण सम्पन्न भएको हो ।

निर्माण कम्पनी ‘मुक्तिनाथ एण्ड ओम गिता जेभि’ ले स्थानीयको सहयोग र निर्माण सामाग्रिको सहजताका कारण निर्धारित समयभन्दा पहिला सबै काम सक्न सफल भएको जनायो ।

तीनसय ५९ मिटर लामो र एक सय ५७ मिटर उचाइको पुल पर्वत सदरमुकाम कुश्मा र मुडिकुवालाई जोड्न मोदीखोलाको खोँचमा निर्माण भएको हो ।

स्थानीय पुर्वाधार विकास तथा कृषि सडक बिभाग (डोलिडार) अन्तर्गत झोलुङ्गे पुल महाशाखाको लगानीमा निर्मित पुलको लागत एक करोड ७६ लाख ९९ हजार छ ।

मुडिकुवाका सामाजिक कार्यकर्ता ऋषिकेश तिवारीको अगुवाईमा चार वर्षअघि सर्भे गरिएको पुल स्थानीय विकास मन्त्रालयको लगानीमा निर्माण भएको हो । पुल बनेपछि मुडिकुवा, शंकरपोखरी, थापाठाना, देबिस्थान, खानीगाउँ सहित दक्षीण पर्वतका दुई दर्जनबढी गाविसका साथै बाग्लुङ र गुल्मीसमेतका केहि गाविसबासीलाई पैदल हिड्दा करिव दुई घण्टा लाग्ने बाटो पुलले केहि मिनेटमै छोट्याएपछि सर्वसाधारणहरु प्रसन्न छन् ।

सोमबारदेखि खुल्ला भएपछि पुल हेर्न र ओहोरदोहोर गर्नेहरुको निकै भिड बढेको छ । बिभिन्न जिल्लाका स्कुले विद्यार्थीहरुको शैक्षिक भ्रमण र अरु विभिन्न समूह बनाएर आउनेहरु पुलमा बसेर तस्बिर खिचाउन निकै व्यस्त देखिन्छन् ।

पुलले मुडिकुवा र आसपालका बासिन्दाहरुका लागि अकल्पनिय विकासको मार्ग प्रसस्त गरेको निर्माण समितिका अध्यक्ष बालकृष्ण तिवारीले बताए । ‘यस क्षेत्रका किसानहरुले बढी फाइदा लिनेछन्, ‘तिवारीले भने, ‘एउटा गाईंभैंसी पालेर दुध बिक्रि गर्न सहज हुन्छ । दुइचारकिलो तरकारी सदरमुकाम पुर्‍याएर विक्री गरेर पनि परिवार पाल्न सकिन्छ ।’

सिङ्गल स्पानको पुलमा मोटरसाइकल समेत वारपार गर्न मिल्नेगरि निर्माण गरिएको भए पनि केही समयका लागि मोटरसाइकल वारपारमा रोक लगाइएको अध्यक्ष तिवारीले बताए ।

यसअघि निर्माण भएका कुश्मा–ज्ञादी र कुश्मा–कैया झोलुङ्गे पुलले आन्तरिक पर्यटन बिस्तार भइरहेको बेला यो पुलले थप पर्यटक भित्र्याउन मद्दत पुग्ने पर्वतका पर्यटन व्यवसायीहरुले बताएका छन् ।

२०६६ सालमा निर्मित कुश्मा–ज्ञादी तीन सय ४४ र गत ७२ असोजमा निर्मित कुश्मा–कैया पुल तीन सय ४७ मिटर लम्बाई र एक सय ४६ मिटर उचाईका छन् । कुश्माका तिनवटै पुल मुलुककै अग्लामध्येका पहिलो, दोस्रो र तेस्रो हुन् ।

सिङ्गल स्पानमा निर्माण भएका एसियाकै लामा पुल भएकोले पनि पर्यटकको आँखामा यी पुलहरु बढी आकर्षक भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर